काभ्रेको सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कार्यालयले पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गर्ने भएको छ ।
कार्यालयले नयाँ भवनका लागि जमिन खोज्न थालेको ७ वर्षसम्म जिल्लाभित्र सदरमुकाम नजिक उपयुक्त क्षेत्र निरीक्षण गर्दै आए पनि कुनै पनि स्थानमा जमिन नपाएपछि पुरानै एकतले भवन भत्काउन बाध्य भएको हो ।
कैदीबन्दी सुधार गृहको रूपमा निर्माण गर्न लागिएको काभ्रेपलाञ्चोकको धुलिखेल कारागार भवनका लागि यसअघि सरकारले कारागार व्यवस्थापन विभागमार्फत बर्सेनि करोडौं बजेट छुट्याउँदै आएको थियो ।
चालू आर्थिक वर्षबाट भवन निर्माण गर्न गत हप्ता मात्रै ठेकेदार कम्पनीसँग सम्झौता भएको जेलर गायत्रीप्रसाद अधिकारीले जानकारी दिए ।
‘वर्षौंदेखि नयाँ भवनका लागि जमिन खोज्दै आइयो, उपयुक्त स्थानमा कतै पनि जमिन नपाएपछि पुरानै भवन भत्काएर नयाँ भवन बनाउने निर्णय भएको हो,’ अधिकारीले भने । उनका अनुसार हाल ५६ लाख ७४ हजार ४२३ रुपैयाँको लागतमा २ तले प्रशासनिक भवन तथा थप बजेटबाट सुरक्षा सहितका अन्य संरचना क्रमशः निर्माण हुनेछ ।
३ वर्षअघि धुलिखेल नगरपालिका क्षेत्रभित्रको कारागारका लागि उपयुक्त जमिन उपलब्ध गराउन पटक–पटक माग गर्दा नगर कार्यपालिकाले बेवास्ता गरेको थियो । तत्कालीन स्थानीय सिफारिस समितिले धुलिखेल नगरपालिका–११ को कित्ता नम्बर २७७ को १४० रोपनी ७ आना १ पैसा २ दाममध्ये पूर्वतर्फको १२ रोपनी जमिन उपलब्ध गराउन गृह मन्त्रालयमार्फत अनुरोध गर्दा नगरपालिकाले उक्त जमिन दिन मानेको थिएन ।
नगरपालिका र सर्वसाधारणले कारागारले माग गरेको जग्गा पर्यटकीय क्षेत्र रहेकाले नसकिने बताउँदै आएका थिए । त्यसयता कारागार निर्माण हुनेमा अन्योलता हुँदै आएको थियो । हाल रहेको ३ रोपनी ८ आना ३ दाम जमिनमा मापदण्डअनुसार कारागार बनाउन नसकिने भएकाले वर्षौंदेखि जमिनको खोजी हुँदै आएको हो ।
सरकारले आर्थिक वर्ष २०७०/७१ देखि करोडौं रुपैयाँ बजेट विनियोजन गरेर जिल्लाको साँगा, बनेपा, धुलिखेल, काभ्रे भञ्ज्याङ लगायतका स्थानमा बर्सेनि सार्वजनिक जमिन खोजिदै आइए पनि उपयुक्त जमिन नपाउँदा बजेट फ्रिज हुँदै जाने गरेको थियो ।
सरकारको मापदण्डअनुसार नयाँ निर्माण हुने कारागार कैदीबन्दीमैत्री, कारागारभित्र खेलकुद मैदान, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हिरासत, शौचालय, कार्यालयको भवन लगायतका भवन निर्माण गर्नुपर्ने थियो । तर पर्याप्त जमिन नहुँदा मापदण्डअनुसारको कारागारको वातावरण बनाउन नसकिने जेलर अधिकारीले बताए ।