१६ असार २०८३, मंगलबार

‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन् ?’

माघ ३, २०७७
‘चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेका हुन् ?’

सर्वोच्च अदालतको संवैधानिक इजलासका चार न्यायाधीशहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको भन्दै आचारसंहिताको प्रश्न उठेको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका क्रममा निवेदकमध्येकी एक शशी श्रेष्ठले भेटको प्रसंग कोट्याउँदै ‘निष्पक्ष न्याय सम्पादनको सुनिश्चितता हुनुपर्ने’ माग गरेकी हुन् ।

विघटित प्रतिनिधिसभाको राज्य व्यवस्था समिति सभापतिसमेत रहेकी श्रेष्ठले पुस २६ गते न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काले प्रधानमन्त्रीलाई राति ८ देखि ९ बजेसम्म भेटेको कुरा आएको कान्तिपुरलाई बताइन् । ‘त्यसको भोलिपल्ट न्यायाधीश सपना प्रधान मल्ल र हरिकृष्ण कार्कीले दिउँसो साढे १ बजेदेखि करिब ३ बजेसम्म भेटेको कुरा आएकाले इजलासमै प्रश्न उठाउन गएका हौं,’ उनले भनिन् ।

श्रेष्ठले यो प्रसंग राखिनसक्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘यस्तो कुरा यहाँ नगर्नुस्’ भन्दै विषयवस्तु टुंग्याउन आदेश दिएका थिए । केहीबेरमा सर्वोच्च अदालतले विज्ञप्ति जारी गरेर यस्तो समाचारप्रति ‘गम्भीर ध्यानाकर्षण’ भएको प्रतिक्रिया दिएको छ । सर्वोच्चले न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकूल प्रभाव पर्ने गरी झूटो र असत्य समाचार सम्प्रेषण भएको भनी प्रतिक्रिया दिएको हो ।

विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम हुने गरी समाचार प्रकाशित भएको भन्दै सर्वोच्च अदालतले विज्ञप्तिमा भनेको छ, ‘स्वयं पत्रकार आचारसंहिता र कानुन प्रतिकूल हुने हँुँदा कानुनी दायरामा आउन सक्नेतर्फ सचेत हुन अनुरोध छ ।’

निवेदक श्रेष्ठले भने केही मानिसले आफूहरूलाई पहिल्यै यसबारे सूचना दिइसकेको बताइन् । उनका अनुसार, त्यसको आधिकारिकतामा समेत कुराकानी भएको थियो ।

उनले भनिन्, ‘उहाँहरूले सीसीटीभी फुटेज मगाएर हेरे हुन्छ नि भनेपछि विश्वस्त भएका हौं ।’ न्यायालय दबाब र प्रभावमा पर्दैन भन्ने मान्यता रहेकामा त्यो आस्था नटुटोस् भनेर इजलासमा नै ध्यानाकर्षण गराएको उनको भनाइ थियो । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्