
बागमती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुन थालेको छ ।
चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर सफाइ गरिन्थ्यो ।
महाअभियानको ४०१ औं हप्तामा मीनभवन तीनकुने क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष सरिता खनालको नेतृत्वमा ८० जना सफाइमा सहभागी भएको थिए ।
अभियानकर्मीसहित २०० जनाले बाग्मती सफाइमा भाग लिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए ।
गत हप्ता महाअभियानको ४०० औं हप्तापछि चैतअघिकै स्वरूपमा बाग्मती सफाइ हुन थालेको छ । शनिवारको सफाइबाट ४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जानकारी पनि उनले दिए ।
विष्णुमती सफाइ अभियानको ३३३ औं हप्तामा तारकेश्वर नगरपालिका क्षेत्रमा सफाइ गरियो । तारकेश्वर सरसफाइ अभियानको अगुवाइमा नेपालटार चोकबाट लोकतान्त्रिक चोकसम्म सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए ।
यसैगरी विष्णुमतीको माथिल्लो क्षेत्र सफाइ अभियान बूढानीलकण्ठ नगरपालिकाको पासिकोट क्षेत्रमा गरिएको छ । त्यस क्षेत्रमा अभियानकर्मी रामकुमार श्रेष्ठका अगुवाइमा सफाइ हुँदै आएको छ ।
मनोहरा सफाइ अभियानको २०० औं हप्तामा काठमाडौं महानगरपालिका–३२ स्थित जडिबुटी पुल मनोहरा कृषि बजार क्षेत्रमा सफाइ गरिएको छ । १०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट २ गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दंगालले जानकारी दिए ।
यसैगरी गुह्येश्वरीमाथिको बाग्मती, रुद्रमती, चक्रपथको उत्तर र पश्चिमी भेग, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि शनिवार सफाइ गरिएको छ । विक्रम संवत् २०७० जेठ ५ गतेदेखि बाग्मती सफाइ महाअभियान शुरू भएको हो । महाअभियान शुरू भएपछि यसका सहायक नदीमा पनि सफाइ शुरू भएको छ ।