बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेसनले स्टार्टअप आइडियाले कल कार्यक्रम अन्तर्गत युवा उद्यमी प्रवद्र्धन कार्यक्रम शुरू भएको छ ।
शनिबार एक कार्यक्रमका बिच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धु प्रसाद ढुङ्गाना र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कार्यक्रमको शुरूवात गर्नु भएको हो ।
कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, बिषय विज्ञता र बजारको वस्तुस्थितिबारे राम्रो ज्ञान हुन आवश्यक रहेको बताए ।
घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाहरुको लागि सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह समेत गरे । मन्त्रालयका सचिव डा. सिन्धु प्रसाद ढुङ्गानाले युवा मैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताउदै आगामी बर्ष युवा लक्षित कार्यक्रमलाई बढाउदै जाने बताए ।
राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले नयाँ युवा पुस्ताको सोच माथी लगानी गर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले शुरू गरेको यो कार्यक्रममा सहभागी हुन युवाहरुलाई आग्रह गरे ।
सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा वितरणमा अन्य बैंक भन्दा निकै अघि रहेको उल्लेख गदै आगामी दिनमा युवा उद्यमी प्रवद्र्धनमा बैंक क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे ।
समारोहमा नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य एवं बैंकर बर्षा श्रेष्ठ, विशाल फाउन्डेशनकी अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक विशाल गैरे, एड मार्क कलेजका संस्थापक शिवप्रसाद अधिकारी लगायतले समुद्घाटन सत्रमा उद्यम, उद्यमशीलता र युवा सहभागिताबारे मन्तव्य राखेका थिए ।
कार्यक्रमको दोस्रो र तेस्रो सेसनमा युवा स्वरोजगार कोषका पूर्व कार्यकारी निर्देशक बिनोद गुरागाईं, त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका सहायक डिन डा. ध्रुवराज पोखरेल, खल्ती डटकमका अमित अग्रवाल, पैचो पसलका प्रवन्ध सञ्चालक ध्रुव न्यौपाने, राष्ट्रिय बाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेन्द रमण खनाल, महिला उद्यमी भारती पाठक, अञ्जु पौडेल लगायतले विभिन्न सेसनमा बोलेका थिए ।
सरकार, वित्तिय संस्था र नीजि संस्थाको संयुक्त आयोजनामा शुरू भएको यो कार्यक्रम बागमती प्रदेशभित्रका ६ वटा (व्यवस्थापन–बिबिए/एमबिए) कलेजहरु र सामाजिक संस्थाहरुसंगको सहकार्यमा चितवन, हेटौडा, धुलिखेल र सिन्धुली जिल्लामा गरी १० वटा बृहत उद्यमशीलता र वित्तिय साक्षरता सहितको युवा उद्यमी प्रवद्र्धन कार्यक्रम आयोजना गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए।