
शोभानसिंह सिलवालले आइतवार १० महिनापछि विद्यालयमै कक्षा लिए । घरभित्रै मोबाइलको स्क्रिन हेरेर पढ्दा गुम्सिएका उनी विद्यालय खुलेपछि खुशी छन् ।
२ कक्षाको अन्तिम परीक्षा दिएपछि २०७६ चैत ५ गते बन्द भएका विद्यालयमा उनले २ कक्षाको आखिरी समयतिर कक्षाकोठा छिर्न पाएका हुन् ।
शोभानसिंह आइतवार मास्क लगाएर आमा सुजनाको हात समाउँदै विद्यालय पुगेका थिए । विद्यालयको मूल ढोकाकै सुरक्षा गार्डले ‘थर्मल गन’ ले तापक्रम नाप्दा सामान्य देखिएपछि उनी भित्र छिरे ।
लगत्तै साबुनपानीले हात धोए । त्यसपछि सरासर कक्षाकोठामा गए । मोबाइल स्क्रिनमा देखेका साथीहरूलाई १० महिनापछि उनले प्रत्यक्ष भेटे ।
‘घरमा पढ्दा केही न केही त सिकिरहेकै थियो । स्कुल जाने भनेपछि ऊ (शोभानसिंह) फुरुङ्ग छ,’ उनका बुवा सूर्यले भने ।
शोभानसिंह पढ्ने काठमाडौंस्थित विश्वनिकेतन माविमा सामाजिक दूरी कायम गरिएको छ । जोर र बिजोर रोल नम्बरका आधारमा कक्षा चलाइएको छ । लगाएको मास्कको डोरी चुँडिए वा हराए समस्या हुने भन्दै अर्को मास्क पनि बोक्नुपर्ने नियम बनाइएको छ । ‘सकेसम्म स्वास्थ्य सुरक्षा सावधानी अपनाएका छौं,’ विश्व निकेतनमा प्रधानाध्यापक हेरम्बा कँडेलले भने ।
भक्तपुरको सीभीएम स्कूलका प्रिन्सिपल शंकर पौडेलले भने एकैपटक सबै कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्न नसक्ने भएकाले पहिलो चरणमा ७ देखि १० कक्षासम्मको मात्रै विद्यालयमा नियमित पठाइ शुरू गरेको बताए ।
बिहान १०–१ बजेसम्म ४ वटा कक्षा विद्यालयमा सञ्चालन गरिएको उनले जानकारी दिए । ‘घरमै खाना खाएर आउँछन् । खाजा खान घरमै पुग्छन्,’ उनले भने ।
स्वास्थ्य सुरक्षा सावधानी अपनाउन केही विद्यालयले फेससिल्ड र मास्क लगाउनुपर्ने नियम बनाएका छन् । २०७६ चैतदेखि बन्द भएका शैक्षिक संस्था आइतवारदेखि आंशिक रूपमा खुलेका छन् । केहीले सम्पूर्ण कक्षा विद्यालयबाटै चलाएका छन् भने केहीले अनलाइन र ‘फेस टु फेस’ दुवै सञ्चालन गरिरहेका छन् ।
‘विद्यालय खोल्दा चुनौती छ,’ प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले भने, ‘विद्यालय खोले पनि केही अभिभावक छोराछोरी पठाउन तयार छैनन् । एउटै शिक्षकले अब अनलाइन र विद्यालयमा पढाउनुपर्ने समस्या सामना गर्नुपर्ने भएको छ ।’
कोरोना संक्रमितको मात्रै उपचार हुने टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइतवारदेखि अन्य रोगका बिरामी समेत भर्ना लिएको छ । कोरोनाको सामान्य लक्षण भएकालाई राख्ने ३२ शय्याको आइसोलेसन वार्डलाई ‘ननकोभिड’ बनाइएको छ । कोरोना संक्रमितको उपचार गर्न आईसीयूसहित २७ शय्या मात्रै छुट्याइएको छ । ननकोभिड वार्डमा ३ जना बिरामी भर्ना गरिएको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।
‘जोखिम कम भएर होइन, ननकोभिड भएका अन्य सरुवा रोगका बिरामीले उपचार पाउनै छाडेर कोभिड वार्डलाई ननकोभिड वार्ड बनाएका हौं,’ उनले भने । यो अस्पतालले एक वर्षअघि मुलुकमा भेटिएको पहिलो संक्रमितको उपचार गरेको थियो । त्यसयता सरकारले यसलाई कोरोनाको उपचार गर्ने विशेष अस्पतालका रूपमा विकास गरेको थियो ।
कोरोनाकै कारण बन्द सिनेमा घर बिहीबारदेखि खुलेका छन् । क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले फिल्म हेर्न दर्शक आउन थालेको बताए । ‘कोरोना सुरु हुनुभन्दा अघिको जस्तो छैन । एउटा हलमा ४०–५० जना आउने गरेका छन् । राम्रो फिल्म भयो भने दर्शक आउँछन् भन्ने देखियो,’ उनले भने । नाटकघरमा पनि सामाजिक दूरी कायम गरेर नाटक देखाउन थालिएको छ । जावलाखेलको सदर चिडियाखाना मंसिर अन्तिम साताबाटै खुलेको छ । पार्क र पार्टी प्यालेससमेत यसअघि नै खुलिसकेका छन् । बजार–पसल भने लकडाउन हटेदेखि नै खुला थिए । विद्यालयसमेत खुल्न थालेपछि चहलपहल थप बढेको छ ।
पर्यटन क्षेत्र पहिलाको जस्तो अवस्थामा फर्कन नसकेको व्यवसायीहरू बताउँछन् । पर्यटक लक्षित होटलहरू अझै बन्द छन् । सरकारले भ्रमण वर्ष घोषणा गरेपछि गत वर्ष पर्यटकलाई आकर्षित गर्न ठूल्ठूला होटल खोलिएका थिए ।
नेपाल टुर एन्ड ट्राभल एसोसिएसन (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंका अनुसार नेपालका पर्यटन क्षेत्र सबै बन्द रहेको बताए । ‘आगमन भिसा बन्द छ । चीन र भारतको सीमा अझै खुलेको छैन । सात दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यकारी नियमका कारण विदेशी पर्यटक आउन चाहेका छैनन्,’ उनले भने, ‘पर्यटक आगमन नभएकाले पदयात्रा, हिमाल आरोहण, र्याफ्टिङ लगायतका गतिविधि बन्द छन् ।’
स्वास्थ्य मन्त्रालका अनुसार कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५९ पुगेको छ । दिनमा ५ जनाभन्दा बढीको मृत्यु हुने गरेको मन्त्रालयको तथ्यांकले देखाउँछ । आइतवार पनि ५ जनाको मृत्यु भएको छ । मन्त्रालयको आइतवारको तथ्यांकअनुसार गम्भीर संक्रमितमध्ये १५७ जना आईसीयूमा र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
कोरोना परीक्षण भने न्यून संख्यामा मात्रै भइरहेको छ । देशभरि ८२ वटा ल्याब रहेकामा शनिवार ३ हजार ५०८ जनाको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये २६६ जनामा मात्रै कोरोना पोजिटिभ देखियो । नयाँ संक्रमितमध्ये काठमाडौं, भक्तपुर र ललितपुरमा ६६.५४ प्रतिशत अर्थात् १७७ जना छन् ।
‘हाम्रो ल्याबको पीसीआर रिपोर्टलाई आधार मान्ने हो भने जोखिम कम भएको छैन,’ सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, ‘सभा/सम्मेलन, आन्दोलन जारी छ । यस्ता कार्यक्रममा सहभागी हुनेले मास्क लगाएको देखिँदैन । चिन्ता लाग्छ ।’
कोरोनालाई सामान्य रूपमा लिँदै सर्वसाधारणले मास्क समेत लगाउन छाडेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको उच्च जोखिम कायमै रहेको बताए । ‘खोपको आविष्कार भएको शुभ समाचार आइरहेका छन् । सरकारले खोप प्राप्त गर्ने र सबै नागरिकलाई लगाउने योजना बनाइरहेको छ,’ उनले भने, ‘औषधि पत्ता नलागेको अवस्थामा कोभिडबाट आफू र आफन्त बचाउने जनस्वास्थ्यका मापदण्ड मात्रै हुन् । त्यसैले हिँड्दा, बस्दा र काम गर्दा एकअर्कालाई आशंकामा राखेर दूरी कायम गर्दै मास्क प्रयोग गर्नुपर्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।