
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेट विमानको कक्पिटबाट पछाडि बस्न भनेपछि समस्या सिर्जना भएको दावी गरेका छन् ।
‘पार्टी एकताको दिन नेकपा जेट उडाउन दुईवटा पाइलट चाहिन्छ भनेको उहाँले नै हो । जेट उडाउने बेलामा अर्को पाइलटलाई तपाई पछाडि बस्नुस् भनेपछि समस्या भयो नि !,’ अखिल नेपाल महिला संघ (अनेमसंघ)ले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भने ।
अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउन आफुले ओलीको सबै बलमिच्याइँलाई सहेको दावी गरे । ‘पेल्दै लगेपछि मैले आत्मसमीक्षा गर्नुपर्ने भयो, तैपनि पार्टी एकता बिग्रन्छ कि भन्दै सहँदै गएँ । उहाँको जिद्दी स्वभावलाई मान्ने गल्ती मेरो भयो,’ प्रचण्डले भने ।