
मंगलबार राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिकहरुले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा जारी सुनुवाइ प्रक्रियालाई प्रमुख पृष्ठमा प्रमुखताका साथ छापेका छन् । यस्तै पत्रपत्रिकाले प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोल्न लागिएको, कोरोनाको नयाँ भेरियन्ट देखिएको, तराई शीतलहरका कारण जनजीवन कष्टकर बनेको, कोरोनापछि गरिबी बढेकोलगायतका समाचारलाई पहिलो पृष्ठमा प्राथमिकता दिएका छन् ।
कान्तिपुर दैनिकले सरकारले ‘वैकल्पिक सरकार’ बन्ने अवस्था नभएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरिरहेका बेला संवैधानिक इजलासले प्रतिनिधिसभाबाट ‘अर्को सरकार बन्ने अवस्था थियो कि थिएन ?’ भन्ने चासो राखेको खबर छापेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार सुरु भएको नियमित सुनुवाइमा बहस गरिरहेका अधिवक्ता भिमार्जुन आचार्यलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘संविधानको धारा ७६ को उपधारा ७ मा प्रतिनिधिसभा विघटनको व्यवस्था छैन र ?’ भनी जिज्ञासा राखेका थिए । उनले यसअघि पनि बारम्बार बहुमत प्राप्त दलले ‘सरकार चलाउँदिन भन्दा प्रतिनिधिसभा विघटन गर्न पाउँदैन र ?’ भनी प्रश्न गरेका थिए । उनको आशय बहुमत प्राप्त सरकारको विकल्पका रूपमा प्रतिनिधिसभामा अर्को सरकार बन्ने सम्भावना हुन्छ कि हुँदैन भन्ने थियो ।
यस्तै सोही पत्रिकाले प्रदेश २ मा शीतलहरको कहर बढेको खबर छापेको छ ।
यस्तै नयाँ पत्रिका दैनिकले कोभिडले थप १२ लाख नेपाली गरिबीको रेखामुनि पुगेको उल्लेख गरेको छ । समाचारमा भनिएको छ– कोभिड– १९ को महामारीले थप १२ लाख नेपाली गरिबीको रेखामुनि झरेका छन् । गत वर्षसम्म गरिबीको रेखामुनि ५६ लाख नेपाली रहेकोमा अब यो संख्या ६८ लाख पुगेको छ । सोही पत्रिकामा बहसका क्रममा वकीलहरुले प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री नभएको जिकिर गरेको आशयको समाचार छापिएको छ भने आन्दोलनको आह्वान गर्दै नेकपाको प्रचण्ड नेपाल समूहले जारी गरेको अपीललाई पनि पहिलो पृष्ठमै समेटेको छ । प्रचण्ड नेपाल समूहले माघ ९ गते काठमाडौंमा बृहत प्रदर्शन गर्दैछ ।
यसैगरी सरकारी अखबार गोरखापत्रले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगले वार्षिक प्रतिवेदन बुझाएको समाचारलाई प्राथमिकता दिएको छ । सो क्रममा राष्ट्रपतिले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताइन् ।
यस्तै सो पत्रिकामा सर्वोच्चले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनको सुनुवाइ लम्बिने देखिएपछि संवैधानिक इजलासले समय व्यवस्थापनका लागि कानुन व्यवसायीहरूसँग आग्रह गरेको खबरका साथै प्रचण्डका भाषण, विद्युतीय तार भूमिगत पार्ने कार्यलाई तीव्रता दिइएको जस्ता समाचारलाई पनि पहिलो पृष्ठमै समेटिएको छ ।
यसैगरी राजधानी दैनिकले कोरोनाको नयाँ प्रजातिको संक्रमण बेलायतबाट आएका ३ जनामा देखिएको खबर छापेको छ भने सोही पत्रिकामा म्यादी प्रहरीमा १ लाख भर्ना गर्न लागिएको खबर पनि छापिएको छ ।
समाचारमा भनिएको छ– प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ ।
यसैगरी नागरिक दैनिकमा कोरोना खोप आयात गर्न कूटनीतिक उल्झन देखिएको, नेकपा विवादका बीच कार्यकर्ता तानातानमा परेको, सर्वोच्चमा जारी सुनुवाइ जस्ता विषयलाई प्रथम पृष्ठमा समेटिएको छ ।
अन्नपूर्ण पोस्टले नयाँ प्रजातिको कोरोना सर्ने क्षमता ७० प्रतिशत हुने र नेपालमा पनि त्यस्तो प्रजातीको कारोना भेटिएको खबरलाई मुख्य पृष्ठमा छापेको छ । सोही पत्रिकामा बहस छोटो गर्न इजलासले रुलिङ गरेको समाचार पनि पहिलो पृष्ठमै छापिएको छ ।