
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनको जीतलाई पचाउन सकेका छैनन् । त्यसैले गर्दा बाइडनलाई गृहराज्य डेलावेयरबाट वाशिङटन डीसी आउन सरकारी विमान पनि ट्रम्पले उपलब्ध गराएनन् ।
त्यसपछि बाइडन निजी बोइङ ७३७ चढेर वाशिङटन गए । त्यसअघि उनले आफ्ना मृत छोरा बोप्रति शब्दश्रद्धा व्यक्त गर्दै आँखामा आँसु ल्याएका थिए ।
ट्रम्पले बाइडनलाई अपमान गरेको भए पनि सन् २०१७ मा तत्कालीन ओबामा प्रशासनले ट्रम्प परिवारका लागि न्युयोर्कमा एयर फोर्स वान विमान पठाएको थियो ।
बाइडन परिवार वाशिङटनमा अवतरण गरेलगत्तै ट्रम्पले २० मिनटको बिदाइ सन्देश दिएका थिए । त्यसमा उनले बाइडनको नाम लिएनन् अनि बधाई पनि दिएनन् ।
अमेरिकाको स्थानीय समयअनुसार बुधवार बिहान ट्रम्प परिवार बाइडनहरूलाई अभिवादन नगरिकनै वाशिङटनबाट बाहिर जानेछन् । उनले एयर फोर्स वानमा चढ्नुअघि एन्ड्रुजमा बिदाइ समारोह आयोजना गर्ने भएका छन् ।
ट्रम्पले बाइडनलाई बेवास्ता गर्दा मेलानियाले पनि जिल बाइडनलाई घरमा आतिथ्य नगर्ने भएकी छन् ।