
टर्कीले सामाजिक सञ्जाल प्ल्याटफर्महरू ट्विटर, पेरिस्कोप र पिनटरेस्टमा विज्ञापनमाथि प्रतिबन्ध लगाएको छ ।
नयाँ सामाजिक सञ्जाल कानूनअनुसार विदेशी कम्पनीहरूले टर्कीमा आधिकारिक प्रतिनिधि राख्नुपर्नेमा यी कम्पनीहरूले अटेरी गरेपछि त्यस्तो प्रतिबन्ध लगाइएको हो ।
प्रतिबन्ध मंगलवारदेखि लागू भएको छ । देशका शीर्ष अधिकारीहरूले साइबरस्पेसमा राष्ट्रिय स्वार्थ जगेर्ना गर्ने महान् कदम भन्दै यसको प्रशंसा गरेका छन् ।
‘हामी देशको आँकडा, निजता तथा अधिकार संरक्षणका लागि आवश्यक पर्ने सबै काम गर्न प्रतिबद्ध छौं,’ यातायात राज्यमन्त्री ओमर फातिह सायानले ट्विटरमा लेखे । ‘हामी टर्कीमा डिजिटल फासीवादको अनुमति दिँदैनौं र नियमको अवज्ञालाई पनि सहँदैनौं ।’
टर्कीले गत जुलाई महिनामा नयाँ डिजिटल मिडिया कानून अपनाएको थियो । त्यसअन्तर्गत विदेशी कम्पनीहरूले देशमा प्रतिनिधि राख्नुपर्ने जसले गर्दा उनीहरूको प्ल्याटफर्ममा अवैध सामग्रीका विषय तत्काल समाधान गर्न मिल्ने प्रावधान छ ।
यसलाई अपनाउँदा कम्पनीहरूले पूरै प्रतिबन्ध खानेभन्दा आपत्तिजनक सामग्री हटाउने अवसर पाउँछन् । यस कानूनले टर्कीका सामाजिक सञ्जाल प्रयोगकर्ताका डेटालाई पनि स्थानीय स्तरमै भण्डारण गर्न लगाउँछ ।