
नेपाललाई भारत सरकारले कोभिड– १९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो ।
उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।
आज मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालेछिट्टै खोप आइपुग्ने जानकारी दिए ।
मन्त्री त्रिपाठीले भारत सरकारले प्रतिकूलावस्थामा पनि औषधिलगायत आपूर्ति जारी राखेकामा सराहना व्यक्त गर्दै खोप अनुदान सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिए ।
सीमित देशका सीमित क्षेत्रमा मात्रै खोप उत्पादन हुँदै आएको जानकारी दिँदै उनले भारतले दिन लागेको खोप नेपाली परिवेशअनुसारको भण्डारण र ढुवानी गर्न सक्ने रहेको बताए ।
खोप उपलब्ध हुनुलाई नेपाल-भारतका बीचको मित्रताको अनुपम उदाहरणका रुपमा लिँदै उनले भारत नेपाल र छिमेकीका विषयमा उपयुक्त निर्णय गरी अघि बढेकामा धन्यवाद दिए ।
आगामी दिनमा पनि खोपको खरीदमा भारत सरकारको सहयोग महत्वपूर्ण हुने उनको भनाइ थियो । उनले अहिले उपलब्ध खोप पर्याप्त नभएकाले बाँकी पारदर्शी रुपमा खरिद प्रक्रिया अघि बढाइने बताए ।
भारतीय राजदूत क्वात्राले भारतमा खोप बनेको एक हप्ताभित्रै खोप पाउने केही मुलुकमध्ये नेपाल एक रहेको जानकारी गराए ।
“खोप आउनु भनेको यहाँका जनता पहिलो प्राथमिकतामा पर्नु, दुई देशको मित्रता प्राथमिकतामा पर्नु हो र छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नु हो”, राजदूत क्वात्राले भने, “यसको प्रभावकारिता ७० प्रतिशत हुने अति महत्वपूर्ण कुरा हो ।”
उनले नेपालमा पनि खोपको सफल उत्पादनको आशा व्यक्त गरे । उनले विश्वमा सफल खोपमध्ये दुई भारतमा बनेको जानकारी दिए ।
नेपालसँगको शुरुआती चरणदेखि नै सहकार्य रहेको जानकारी गराउँदै उनले यसअघि पनि औषधीय सामग्री र उपकरणको आदानप्रदान भएको स्मरण गरे ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ उद्धृत गर्दै उनले भारतको कोभिडविरुद्धको खोप उत्पादन तथा निर्यात क्षमता सबै वर्गका लागि लाभदायी हुने विश्वास व्यक्त गरे ।
सोहीअनुसार भारतले अनुदानका रुपमा खोप उपलब्ध गराउन लागेको उनले जानकारी दिए । प्रक्रिया पूरा गरी केही दिनभित्रै खोप नेपाल आइपुग्ने समेत उनले बताए ।
राजदूत क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी नेपाल भारत संयुक्त आयोगको बैठकको महत्वपूर्ण विषय कोभिडविरूद्धको खोप रहेको र समकक्षी भारतीय विदेशमन्त्री डा. सुब्रमन्यम जयशङ्करसँग खोपका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको थियो भने ।
उनले कोभिड– १९ विरुद्ध दुवै देश संयुक्त रुपमा अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
खोप अभियानको तयारी पूरा
मन्त्री त्रिपाठीले नेपालमा खोप अभियानका लागि सबै तयारी पूरा भएको जानकारी दिए । उनले खोप ल्याउने क्रममा कुनै पनि जटिलता नरहेको बताए ।
“खोपका लागि उपयुक्त ७२ प्रतिशतमध्ये तीन प्रतिशत सफाइकर्मी चिकित्साकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र एम्बुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने छ”, मन्त्री त्रिपाठीले भने, “यसका लागि कानूनी, प्रशासनिक, आर्थिक सबै तयारी पूरा भएको छ ।” नारायण ढुंगाना/रासस