१० असार २०८३, बुधबार

सिंहदरबार प्रबलीकरण: प्रधानमन्त्री कार्यालय सर्ने तयारी

माघ ८, २०७७
सिंहदरबार प्रबलीकरण: प्रधानमन्त्री कार्यालय सर्ने तयारी
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

 भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मोहडा (उत्तरी, पूर्वी र दक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएको छ ।

यो पहिलो चरणको प्रबलीकरण हो । प्रबलीकरण सम्पन्न भएको सो भवनमा यसै महिनाभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको छ ।

पश्चिमी मोहडाको प्रबलीकरण तीव्र गतिमा भइरहेको छ । सिंहदरबारस्थित ११७ वर्ष पुरानो मुख्य भवनको प्रबलीकरण पूर्वी र पश्चिमी मोहडा गरी दुई भागमा भइरहेको छ । वि.सं. १९६० मा सिंहदरबार निर्माण गरिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख श्यामकिशोर सिंहले सिंहदरबारको मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन)को पहिलो चरणको प्रबलीकरण सम्पन्न भएको जानकारी दिए ।

अहिले दोस्रो चरणमा सूचना प्रविधिसँग सम्बन्धित काम, मेटेनिकल, इलेक्ट्रोनिक र प्लम्बिङ (एमईपी)को काम, आधुनिक फर्निचर, इन्टेरियर डेकोरेसन, सुरक्षासँग सम्बन्धित उपकरण, फायर फाइटिङ जडान, बगैँचा निर्माणलगायतका कार्य अन्तिम चरणमा पुगेको बताउँदै उनले यसै महिनाभित्र प्रबलीकरणसम्बन्धी सम्पूर्ण काम सम्पन्न हुने जानकारी दिए ।

माघ २० भित्रै सम्पूर्ण काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन भइसकेको उनले बताए । भवनको बाहिरी रङरोगन भइसकेको छ भने आँगनमा घाँस लगाउनुका साथै सौन्दर्यको काम भइरहेको छ । भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै किसिमले चुना र सुर्की (आरसीसी) प्रविधिमा आधारित भएर प्रबलीकरण भइरहेको आयोजना प्रमुख सिंहले बताए । प्रबलीकरण भइरहेका भवनहरू भूकम्प प्रतिरोधी हुनेछन् ।

प्रधानमन्त्री कार्यालय ‘स्पेसल जोन’
भवनको पहिलो तलामा प्रधानमन्त्रीको कार्यालय रहने क्षेत्रलाई आधुनिकीकरण तथा सुरक्षाको दृष्टिकोणले ‘स्पेसल जोन’को रूपमा विकास गरिने आयोजना प्रमुख सिंहले बताए ।

प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीले स्वदेशी र विदेशी पहुनासँग भेट्न छुट्टाछुट्टै कक्ष निर्माण, क्याबिनेट हल, एक्सन रुम निर्माण, वार एक्सन रुम निर्माण (उद्घाटन तथा सम्बोधन कक्ष), स्टुडियो, आराम कक्ष निर्माण गरिएको छ । त्यसैगरी प्रधानमन्त्री कार्यालय क्षेत्रको हावा शुद्धीकरण गर्न ‘एयर फ्रेसनर’ जडान गरिएको छ ।

सो क्षेत्रको हावा स्वतः शुद्धीकरण हुनेछ । मुख्य सचिव र प्रधानमन्त्री कार्यालयका पाँच महाशाखाका सचिवहरूका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ ।

त्यसैगरी भवनको माथिल्लो तलामा उपप्रधानमन्त्रीको कार्यकक्ष निर्माण गर्नुका साथै ५० जना सचिवको मासिक हुने बैठकका लागि कक्ष निर्माण गरिएको आयोजना प्रमुख सिंहले बताए । सो क्षेत्रमा पानी वितरणका लागि पानी प्रशोधन प्लान्ट निर्माण गरिएको छ । त्यसैगरी पश्चिमी मोहडाको प्रबलीकरण ७५ प्रतिशत सम्पन्न भएको छ ।

अन्य मोहडाको तुलनामा पश्चिमी मोहडाको निर्माण जटिल प्रकृतिको रहेको तथा बहुमूल्य वस्तु, आकृतिहरू रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्तअनुसार विशेष सावधानी अपनाउँदै पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे । उनका अनुसार विशेष गरी सिसा, चुना, काठ र फलाम प्रयोग गरी निर्माण गरिएको पश्चिमी मोहडाको पुनर्निर्माण पनि तत्कालीन शैलीमै भइरहेको छ । ऐतिहासिक कलाकृतिसमेत रहेका यस भवनको पुनर्निर्माणका क्रममा पुरातात्विक सम्पदाको संरक्षण गरेझैँ संरक्षण गर्नुपर्ने हुन्छ ।

पश्चिमी मोहडाको काम अबको एक वर्षभित्र सम्पन्न भएपछि सिंहदरबारको पश्चिमी क्षेत्रमा नयाँ फाउन्टेन म्युजिक प्रविधि जडान गरी सौन्दर्यीकरण गरिने उनले बताए ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्मित सिंहदरबारको पश्चिमी खण्ड वि.सं. २०३० को आगलागीमा बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो जसको पछि पुनर्निर्माण गरिएको थियो ।

२०३० सालमा भएको आगलागीपछि अङ्ग्रेजी अक्षर ‘सी’ आकारको यो भवनको जीर्णोद्धारमा सिमेन्ट, बालुवा, रडलगायतका सामग्री प्रयोग गरिएको थियो ।

आवश्यक सामग्री बेलायतबाट झिकाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा युरोपेली शैलीमा सिंहदरबार निर्माण गर्न लगाएका थिए । कुल एक अर्ब ५५ करोड रुपियाँको लागतमा अहिले सिंहदरबारको प्रबलीकरण भइरहेको छ । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्