१३ असार २०८३, शनिबार

पत्रपत्रिका पहिलो पेज : बहस गर्ने वकिलको नाम नथप्न आदेश, नेपालमा कहिलेदेखि लगाइन्छ खोप ?

पत्रपत्रिका पहिलो पेज : बहस गर्ने वकिलको नाम नथप्न आदेश, नेपालमा कहिलेदेखि लगाइन्छ खोप ?

बिहीबार राजधानीबाट प्रकाशित हुने प्रायः सबैजसो पत्रिकाले भारतले अनुदानमा दिन लागेको खोपको पहिलो खेप आज आउन लागेको समाचारलाई पहिलो पृष्ठमा महत्वका साथ छापेका छन् । नयाँ पत्रिका दैनिकले भारतले अनुदानमा दिन लागेको १० लाख डोजले ४ लाखलाई खोप लगाउन मिल्ने समाचार छापेको छ । ‘यो खोप एक जनालाई दुई डोज लगाउनुपर्छ । सामान्यतयाः १० लाखले ५ लाख जनसंख्यालाई पुग्नुपर्ने हो । तर, प्रविधिक कारणले १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन, त्यसैले अहिले आउन लागेको खोप करिब ४ लाख मानिसलाई लगाउन मिल्छ’, पत्रिकाले लेखेको छ । सोही पत्रिकाले १० देखि १५ दिनमा खोप लगाउन सुरु हुने खोप शाखा प्रमुखका प्रमुख डा झलक शर्मा गौतमको अन्तरवार्ता पनि छापेको छ ।

यही विषयमा कान्तिपुर दैनिकले खबर छाप्दै ५ दिनभित्र सबै जिल्लामा खोप पुगिसक्ने खबर छापेको छ । सो खोप स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालबाटै लगाइने बताइएको छ । राजधानी, गोरखापत्र, नेपाल समाचारपत्र, अन्नपूर्ण, नागरिक लगायतले पनि सोसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा महत्वकासाथ छापेका छन् ।

यसैगरी कान्तिपुर दैनिक महाकालीमा भारतले फेरि एकतर्फी रुपमा तटबन्ध निर्माण गरेको खबर छापेको छ । नेपालको आग्रहलाई बेवास्ता गर्दै भारतले तटबन्ध निर्माण गर्नुका साथै जगका लागि करिब ८० मिटर खनेको छ । कान्तिपुरले नै ‘अमेरिकामा फेरियो सत्ता’ शीर्षकमा समाचार छापेको छ । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराति पद तथा गोपनीयताको शपथ लिएका हुन्। यस्तै निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउसबाट बिदा भएका छन् ।

राजधानी दैनिकले ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बनधी अनुसन्धानलाई अन्तिम रुप लिएको सीआईबीले ४०० जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी थालेको खबर छापेको छ । अख्तियारले १७५ जनालाई दोषी दावी गर्दै मुद्दा दायर गरेपनि सीआईबीले ४ सय जनाको हाराहारीलाई दोषी दावी गरेको हो ।

सोही पत्रिकाले काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि बनाइएका अमार्टमेन्ट तथा ठूला व्यापारिक भवन असुरक्षित रहेको खबर छापेको छ । अपार्टमेन्टको अनुगमनकै नहुने गरेको समाचारमा भनिएको छ । यस्तै नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सरकारले गृहकार्य अघि बढाएको खबर पनि सोही पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

नयाँ पत्रिका दैनिकले ‘बहस गर्ने वकिलको नाम नथप्न आदेश’ शीर्षकमा समाचार समेत छापेको छ । विघटित प्रतिनिधिसभाविरुद्धको रिटको सुनुवाइमा अधिवक्ताहरूले एकै किसिमका तर्कसहित बहस गर्न थालेपछि इजलासले एक जनालाई आधा घण्टाको समय समेत तोकेको छ । प्रदेशमा सत्ता समीकरणको रस्साकस्सी चलेकै बेला काँग्रेसले छलफल थालेको खबर पनि सोही पत्रिकाको पहिलो पृष्ठमा छ ।
यस्तै गोरखापत्रले संवैधानिक इजलासमा बहस जारी रहेको, मल कारखाना खोल्ने तयारी भएको, पुनर्निर्माण सम्पन्न भएपछि पुरानै ठाउँमा प्रधानमन्त्री कार्यालय सर्ने तयारी भएको जस्ता समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।

अन्नपूर्ण पोस्टले नेकपा विवादमाथि टिप्पणी छापेको छ । यस्तै भारतले कोरोनाका खोप दिन लागेको साथै अमेरिकामा बाइडेनको उदयको विषयमा पनि खबर छापेको छ ।
नागरिक दैनिकले ‘खाँचे परेको बेला राष्ट्रिय सभा झनै निष्क्रिय’ शीर्षकमा समाचार छापेको छ। ‘प्रतिनिधिसभा नभए पनि राष्ट्रिय सभाले सरकारका काममा अनुगमन र निर्देशन गर्न सक्छ । तर प्रतिनिधिसभा विघटन भएपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ’, समाचारमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्