
गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रतिनिधिसभा पुनःस्थापनाको कुरा प्रतिगामी कदम र पश्चगमन भएको दावी गरेका छन् ।
चुनावमार्फत नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने उनले बताए ।
नेकपा समर्थित पत्रकारको संस्था प्रेस संगठन नेपालको भेलालाई बिहीवार काठमाडौंमा सम्बोधन गर्दै गृहमन्त्री थापाले अहिले प्रतिगामी र अग्रगामीबीच भीषण टक्कर भइरहेको बताएका हुन् ।
‘जनताको बीचमा गएर, नयाँ संसदको स्थापना गरेर मात्र अग्रगमनको प्रक्रिया अगाडि बढाउन सकिन्छ । जनताको बीचमा गएर नै विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न सकिन्छ,’ मन्त्री थापाले भने, ‘सरकारले नयाँ संसदको स्थापना, पुरानो संसद विघटनको लाइन लिएको छ । संसद पुनःस्थापना प्रतिगमन तिरको यात्रा हो, त्यो पश्चगामी कदम हो । पार्टी र सरकारले नयाँ संसदको स्थापना गर्ने ऐतिहासिक निर्णय र साहसिक कदम लिएको छ ।’
मन्त्री थापाले प्रतिनिधिसभा पुनःस्थापनाको कुरा गलत भएको पटक–पटक दोहोर्याए । ‘पुरानो संसदको पुनःस्थापना गलत कदम हो, त्यसले प्रतिगमनको दिशातिर लैजान्छ । ठोस सत्य नयाँ संसद स्थापना गर्ने हो । संसद पुनःस्थापना असत्य हो, यसको पर्दाफास गर्नुपर्छ । यो संकल्प राष्ट्रिय भेलाले गर्न जरुरी छ,’ गृहमन्त्री थापाले भने ।
मन्त्री थापाले नेकपा समर्थित पत्रकारलाई मध्यावधि निर्वाचनलाई नयाँ आन्दोलन र अभियानको रूपमा जनतालाई सचेत गराउन आग्रह गरे ।