मंगोलियाका प्रधानमन्त्री खुरेलसुख उख्नाले पदबाट राजीनामा दिएका छन् ।
देशमा कोरोना पोजिटिभ एक महिलामाथि दुर्व्यवहार गरिएको पाइएपछि उनले राजीनामा दिएका हुन् । दुर्व्यवहार गरिएकी महिलाको भिडियो भाइरल भएपछि राजधानी उलानबटारमा प्रदर्शन भएका थिए ।
भिडियोमा महिलाले नवजात शिशुलाई बोकेको र माइनस २५ डिग्री सेल्सियसको कठ्यांग्रिदो जाडोमा अस्पतालको कपडा र प्लास्टिकको चप्पल मात्र लगाएको देखिन्छ । उनलाई निर्मम तरिकाले अस्पताल लगिएको थियो ।
भिडियो हेरेर मानिसहरू क्रुद्ध भए किनकि महिलाहरूलाई शिशु जन्मेको एक महिनासम्म जाडो मौसममा बाहिर निस्कन दिइँदैन र चिसो खाना पनि दिइँदैन ।
मंगोलिया सरकारले रोजगारी दिन नसकेको र अर्थतन्त्र पनि कमजोर बनेकोमा जनता रिसाइरहेको बेलामा यो घटना सार्वजनिक भएपछि प्रदर्शन भएका हुन् ।
प्रधानमन्त्रीले राजीनामासम्बन्धी बयान जारी गर्दै भने, ‘जनताको इज्जत गर्दै र घटनाक्रमको जिम्मेवारी लिँदै म राजीनामा दिन्छु ।’
उनको राजीनामालाई संसद्ले स्वीकृत गर्न बाँकी छ ।
यी विरोध प्रदर्शनहरूपछि वरिष्ठ स्वास्थ्य अधिकारीहरूले पनि राजीनामा दिएका छन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीले पनि राजीनामा दिइसकेका छन् ।