१० असार २०८३, बुधबार

बुटवलमा प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गर्ने, नेता ज्ञवाली भन्छन् : ओली गणतन्त्रवादी पनि होइनन्

बुटवलमा प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शन गर्ने, नेता ज्ञवाली भन्छन् : ओली गणतन्त्रवादी पनि होइनन्

नेकपा (प्रचण्ड–नेपाल) समूहले यही माघ १५ गते बुटवलमा शक्ति प्रदर्शन गर्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर मुलुकलाई पश्चगमनतर्फ लागेको भन्दै त्यसका विरूद्ध लुम्बिनी प्रदेशको मुकाम बुटवलमा शक्ति प्रदर्शन गर्न लागेको हो । 

कार्यक्रममा पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, घनश्याम भुसाल, चक्रपाणि खनाल लगायत नेताहरू संवोधन गर्ने कार्यक्रम तय भएको पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले जानकारी दिए । सभा बुटवलको पुष्पलाल पार्कमा हुनेछन् । त्यसको लागि पार्टी यस क्षेत्रमा प्रचार–प्रसार कार्यक्रममा जुटेको छ । 

राजतन्त्र उडेजस्तै ओली पनि उड्नेछन् : ज्ञवाली

पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज ज्ञवालीले प्रधानमन्त्री ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरेका छन् । उनले ओली केशरजंग रायमाझीभन्दा पनि पश्चगामी भएको आरोप लगाए । ‘रायमाझीले त, बरू राजा महेन्द्रको संसद विघटनको कदमलाई सदर मात्र गरेका थिए । ओलीले त्योभन्दा पनि बढी क्षती पुर्‍याउँदै आफू सहभागी प्रतिनिधिसभा भंग गरे,’ ज्ञवालीले भने । 

ज्ञवालीले थपे, ‘ओली सत्तामा धेरै समय टिक्दैनन् । गणतन्त्र र राष्ट्रघाती जुन काम उनले गरेका छन् । त्यो पतनको छोटो बाटो हो । गतिशील समाजलाई रोक्ने जो कोही पनि आफै समाप्त भएर जान्छ ।’ 

समाजको अग्रगमनलाई रोक्ने २४० वर्षको राजतन्त्र पनि अन्त्य भएजस्तै ओलीको अन्त्य पनि छिट्टै आउने उनको भनाइ छ । 

ज्ञवालीले ओलीलाई नक्कली राष्ट्रवादीको संज्ञा समेत दिए । राष्ट्रवादको नारा लगाउँदैमा राष्ट्रवादी भइँदैन । ओली गणतन्त्रवादी समेत नभएको ज्ञवालीले दावी गरे ।

ओलीको कदमले लोकतन्त्र, संविधान संकटमा परेकोले उनको स्वच्छचारिता र निरंकुश कार्यशैली अन्त्य गर्न सबै अहिलेको आन्दोलनमा सहभागी हुनपर्ने आवस्था आएको उनले बताए । 

निरंकुशलता विरूद्धको आफूहरुको आन्दोलन निरन्तर जारी रहेको बताए । उनले भने, 'हिजो काठमाडौंमा हाम्रो आन्दोलनको सुरुवात हो । अब हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ । २०६२/०६३ को जनआन्दोलन जस्तै प्रधानमन्त्रीको कदम विरूद्ध जनलहर सृजना हुँदैछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्