३१ जेठ २०८३, आइतबार

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

माघ ११, २०७७
बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको हो ।

प्रदेश १ मा स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल, प्रदेश २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदनकुमार उपाध्याय, बाग्मती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलाई संयोजक तोकिएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेललाई संयोजकका रूपमा खटाइएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा सोमबारसम्म पठाइसक्ने तयारी छ । करिब ३ सय अस्पतालबाट खोप लगाउने बताइएको छ ।

भारत सरकारले उपलब्ध गराएको १० लाख मात्रा कोरोनाविरुद्धको खोप गत बिहीबार नेपाल भित्रिएको थियो । अहिले सो खोप टेकुस्थित केन्द्रीय भण्डारण केन्द्रमा राखिएको छ । अनुदानमा आएको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सफाइ कर्मचारी, शव व्यवस्थापकलाई लगाइनेछ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप नेपाल भित्रिएको एक साताभित्र लगाउने योजना रहेको बताए । गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ गरिने बताएका थिए । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्