बलिउड अभिनेता वरुण धवनले नताशा दलालसँग आइतवार विवाह गर्दैछन् ।
नताशा मुम्बईमा बस्ने फेशन डिजाइनर हुन् । उनले अमेरिकाको न्युयोर्कबाट फेशन डिजाइनिङको कोर्स गरेकी छन् ।
उनले आफ्नै नाममा डिजाइन हाउस पनि आरम्भ गरेकी छन् । विशेषगरी दुलहीका लुगा बनाउन उनको दखल छ ।
वरुण र नताशाले लामै समयदेखि डेटिङ गर्दै आइरहेका छन् ।
केही समयअघि करीना कपूरको च्याट शो ह्वाट वीमेन वान्टमा वरुणले नताशासँग पहिलो भेटघाटको उल्लेख गरेका थिए ।
पहिलोपटक नताशालाई स्कूल पढ्दा क्लास ६ मा भेटेको वरुणले बताए । उनीहरूबीच लामो समय मित्रता रह्यो र पछि गएर डेट गर्न थाले ।
उनीहरूले आफ्नो सम्बन्ध गोप्य नै राखिरहेका थिए । नताशालाई लाइमलाइटमा आउन मन नलाग्ने भएर पनि सम्बन्ध गोप्य राखिएको हो ।
दुई वर्षअघि वरुणले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट नताशाका लागि प्रेम अभिव्यक्त गरेका थिए । आज उनीहरूको विवाह अलीबागमा रहेको एक विशाल दरबारमा हुन लागेको छ ।