
भारतको एक अदालतले बालिकालाई लुगा लगाएकै अवस्थामा छामछुम गर्दा त्यसलाई यौन दुर्व्यवहार भन्न नमिल्ने भनी रुलिङ गरेको छ ।
यसप्रति देशभर आक्रोश फैलिएको छ र महिला तथा बालबालिकाविरुद्ध व्यापक रूपमा फैलिएको यौन दुर्व्यवहारविरुद्धको लडाइँका अभियन्तालाई निराश बनाएको छ ।
गत साता बम्बे उच्च अदालतका न्यायाधीश पुष्पा गनेडीवालाले ३९ वर्षीय एक पुरुष १२ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहारको दोषी नरहेको ठहर गरिन् किनकि बालिकाको कपडा खोलिएको थिएन अर्थात् छाला छालाबीच स्पर्श भएको थिएन ।
अदालतको मिसिलअनुसार, ती पुरुषले बालिकालाई अम्बा दिने लोभमा डिसेम्बर २०१६ मा आफ्नो घरमा बोलाएका थिए । त्यहाँ उनले बालिकाको छातीमा छोएका र भित्री वस्त्र खोल्न खोजेका थिए ।
उनलाई जिल्ला अदालतले तीन वर्षको कारावास सजाय दिएको थियो । पछि उनले उच्च अदालतमा पुनरावेदन दिए ।
जनवरी १९ मा न्यायाधीश गनेडीवालाले ती पुरुषले गरेको कार्य यौन दुर्व्यवहारको परिभाषामा नपर्ने बताइन् ।
उनले आरोपितलाई यौन दुर्व्यवहारको आरोपमा सफाइ दिइन् तर छामछुमको आरोपमा दोषी ठहर गरिन् र एक वर्षको कारावास सजाय सुनाइन् ।
भारतीयहरूले सामाजिक सञ्जालमा बम्बे उच्च अदालतको निर्णयको तर्कमा प्रश्न उठाएका छन् । अदालतले नयाँ नजिर बनाएको छ र अन्य उच्च अदालत तथा जिल्ला अदालतले यस निर्णयलाई पालन गर्नुपर्ने हुन्छ ।
महिला आयोगले यस निर्णयविरुद्ध कानूनी चुनौती दिने जानकारी दिएको छ र यसले महिलाको सुरक्षासम्बन्धी विभिन्न प्रावधानमा नकारात्मक असर पार्ने बताएको छ ।