२३ असार २०८३, मंगलबार

१ अर्बको राजस्व छली भएको खुलासा

माघ १४, २०७७
१ अर्बको राजस्व छली भएको खुलासा

झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले रु एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ ।

 राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले लामो समयको अनुसन्धानपछि रु एक अर्ब चार करोड बराबरको राजस्व छली गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको जानकारी दिए ।

मिश्रलगायतको टोलीले १० वटा फार्म दर्ता गरी त्यही फार्ममार्फत बैंक खाता सञ्चालन गरेर झुटा तथा नक्कली बीजक प्रयोग गरी कारोवार गरेको मैनालीले जानकारी दिए। उनीमाथि सामान खरिद नै नगरी नक्कली बीजक खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको आरोप लगाइएको छ ।

अभियुक्तले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी गरेकाले सोही ऐनको दफा २३ अनुसार कैद सजाय माग गरिएको छ । मतियारविरुद्ध भने मुख्य अभियुक्तको आधा सजायको माग दाबीसहित मुद्दा दर्ता भएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्