
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका २ ठाउँमा नयाँ ट्राफिक लाइट सञ्चालनमा ल्याएको छ ।
सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै बिहीवारदेखि कृष्ण पाउरोटी चोक र गैरीधारामा नयाँ ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याइएको महाशाखाले जनाएको छ ।
महाशाखाले कृष्णपाउरोटी चोकमा प्राइम कमर्सियल बैंक लिमिटेड र गैरीधारामा सनराइज बैंकसँग समन्वय गरी नयाँ ट्राफिक लाइट जडान गरेको हो ।
नयाँ जडान गरिएको कृष्णपाउरोटी चोकको ट्राफिक लाइट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र प्राइम बैंकका एसिसटेन्ट जनरल म्यानेजर अनिता प्रधानले संयुक्त उद्घाटन गरे ।
गैरीधाराको ट्राफिक लाइट महाशाखा प्रमुख भट्टराई र बैंकका सीईओ जनक शर्मा पौडेलले संयुक्त रूपमा उद्घाटन गरेको बताइएको छ ।
ट्राफिक प्रहरी महाशाखा र बैंकका पदाधिकारीहरू उपस्थित उद्घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले काठमाडौं उपत्यकामा भइरहेको चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिइँदै आएको बताए ।
‘हामी ट्राफिक व्यवस्थापनलाई प्रविधितर्फ लैजान प्रयासरत छौं, यसको लागि सडक विभाग सँगसँगै स्थानीय निकाय, विभिन्न बैंक वित्तीय संघसंस्थाहरूसँग निरन्तर समन्वय सहकार्य गर्दै आइरहेका छौं,’ एसएसपी भट्टराईले भने ।