२२ जेठ २०८३, शुक्रबार

द्वन्द्व र इर्ष्या होइन, सहकार्य र समन्वयले मात्रै शहीदको सपना पूरा हुन्छ : मेयर शाक्य

द्वन्द्व र इर्ष्या होइन, सहकार्य र समन्वयले मात्रै शहीदको सपना पूरा हुन्छ : मेयर शाक्य

दशरथ चन्द र गंगालाल श्रेष्ठलाई गोली हानी हत्या गरेको स्थान काठमाडौंको पश्चिममा अवस्थित विष्णुमती नदीको किनारको शोभा भगवतीमा बिहीवार शहीदको सम्झनामा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाले नेपाल राष्ट्रको स्वाधिनता र नेपाली जनताको स्वतन्त्रताका लागि १०४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिँदै छातीमा गोली थापेर सहादत प्राप्त गरेका चन्द र श्रेष्ठको सम्झनामा श्रद्धाञ्जलि सभाको आयोजना गरेको हो ।

यस वर्षको शहीद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलि सभा आयोजना गरी काठमाडौं महानगरपालिकाले शहीद सप्ताह शुरू गरेको थियो । शहीद सप्ताहको चौथो दिन अर्थात् माघ १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा श्रद्धाञ्जलि सभा गरेको थियो ।  

श्रद्धाञ्जलि सभामा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कसैलाई पनि व्यक्तिगत रूपमा चोट नपुर्‍याई सिंगो राष्ट्रलाई मुक्तिको बाटो देखाउने ४ शहीद आम नेपालीको मनमुटुमा सधैं रहिरहेको बताए ।

‘उहाँहरूले कसैलाई ढुंगाइँटा हान्ने, खुकुरी–तरवार चलाउने, गोला–बारुद फ्याँक्ने काम गर्नुभएन । त्यतिबेला हतियार प्रयोग गरेको भए केही व्यक्ति घाइते हुन्थे होला । केहीको मरण हुन्थ्यो होला । उहाँहरूले त्यसो गर्नुभएन,’ शाक्यले भने, ‘तर उहाँहरूको आवाज त्योभन्दा धेरै सशक्त थियो । उहाँहरूको आवाजले देश–विदेश नै तरंगित भयो ।’

तत्कालीन शासकले विभिन्न खाले प्रलोभन देखाउँदा पनि त्यसमा नफसी देशमा प्रजातन्त्र ल्याउन, वाक स्वतन्त्रता प्राप्त गर्न, मानवअधिकारको रक्षा गर्न र हुकुमी शासनको अन्त्यका लागि उनीहरूले ज्यानको आहुती दिएको स्मरण शाक्यले गराए । ‘उहाँहरूको मृत्युको १० वर्षपछि नेपालमा हुकुमी शासनको अन्त्य भयो र उहाँहरूकै बलिदानीका कारण निरंकुशताबाट नेपाली जनता मुक्त भए,’ शाक्यले भने, ‘उहाँहरूकै त्याग र समर्पणका कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो । त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं ।’

शहीदहरूको योगदानको उच्च मुल्यांककन गर्दै उहाँहरूको सम्झना चीरकालसम्म रहन सकोस् भनी महानगरपालिकाले ४ शहीदकै पूर्ण कदको सालिक निर्माण गरेको पनि स्मरण गराए ।

एकअर्कालाई दोषरोपण गर्नेभन्दा पनि सहकार्य गरेर अघि बढ्ने हो भने मात्रै विकास र समृद्धि अघि बढ्ने उनले बताए । उनले ‘टीमवर्क’मा विश्वास गर्दा मात्रै सकारात्मक परिणाम दिन सकिने र आफू पनि त्यसै अनुरूप अघि बढेको बताए ।

‘जनप्रतिनिधि निर्वाचित भएर आएपछि हामीले केही परिणाम देखाएका छौं,’ शाक्यले भने, ‘नजिता तपाईंहरूको सामु छ । मूल्यांकन गर्ने जिम्मेवारी तपाईंहरूको हो ।’ काम गर्ने सन्दर्भमा कतै कमजोरी भएका छन् र ध्यान पुगेको छैन भने ध्यानाकर्षण गराउनु सुझाव दिए । ‘गर्नेले सधैं राम्रै सोचेर गरेको हुन्छ, देख्न पनि राम्रै देखेको हुन्छ तर अरुले मूल्यांकन गर्दा फरक भएको हुनसक्छ । त्यस्तो बेलामा कमी–कमजोरी भयो भने तपाईंहरूले सचेत गराउनु होला सच्याएर अघि बढ्न तयार छौं ।’ 

उनले सबैको लक्ष्य एउटै भएको भन्दै सबैले सहकार्य गरे मात्रै लक्ष्य भेट्न सकिने बताए । ‘त्यो भयो भने मात्रै शहीदहरूप्रति सच्चा सम्मान ठहरिने छ,’ उनले भने, ‘शहीदहरूको प्रतिमा सामुन्ने उभिएर सबैले आपसमा द्वन्द्व र इष्र्या होइन, एकआपसमा सहकार्य र समन्वय गरेर सिंगो देशमा सामाजिक–आर्थिक, सांस्कृति परिवर्तन ल्याउनका एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरौं ।’  

सभामा काठमाडौं महानगरपालिका–१५ का वडाध्यक्ष एवं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले पनि शहीदको सपना पूरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

नागरिक स्वतन्त्रताका पक्षमा निर्भिक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उनीहरूको सपना स्मरण गर्दै शहीद दिवस मनाउने गरिन्छ । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा विक्रम संवत् १९९७ माघ १० गतेदेखि १५ गतेबीचमा ४ जना शहीदलाई प्राणदण्ड दिइएको थियो ।

हुकुमी शासनको विरोध गरेको र नागरिकलाई स्वतन्त्रताको पक्षमा उक्साएको आरोपमा राणा प्रधानमन्त्री जुद्ध शमशेरले विक्रम संवत् १९९७ माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए ।

निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुण्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुण्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिएका थिए ।

माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरीसहित शहीद स्मारक लैनचौर लगिने छ । लैनचौरमा ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि सभा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्