२३ जेठ २०८३, शनिबार

अस्पतालमा बेड खाली गर्न दुई रोगीको हत्या गरेको आरोपमा चिकित्सक पक्राउ

माघ १५, २०७७
अस्पतालमा बेड खाली गर्न दुई रोगीको हत्या गरेको आरोपमा चिकित्सक पक्राउ

इटलीको एक अस्पतालमा कार्यरत एक चिकित्सकलाई कोरोनाभाइरस वार्डमा रहेको दुई रोगीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । महामारी चर्किएको बेलामा बेड खाली गर्न उनले ती रोगीहरूको हत्या गरेको आरोप छ । 
 

कार्लो मोस्का नामक ती चिकित्सकले ६१ वर्षीय नताले बास्सी र ८० वर्षीय एन्जेलो पालेत्तीलाई लोम्बार्डीमा रहेको अस्पतालमा गत मार्च महिनामा बेहोश बनाउने एनेस्थेटिक भारी मात्रामा दिएर हत्या गरेको आरोप लगाइएको छ । 

नर्सहरूले एकअर्कालाई पठाएको ह्वाट्सयाप मेसेजहरूमा बौलाहा मोस्काले शय्या खाली गर्न रोगीहरूलाई मारेको भनी लेखिएको थियो । 
 

मोस्काले रोगीहरूको मेडिकल रेकर्ड अदलाबदली गरेर अपराध लुकाउन खोजेको भनी प्रहरीले अनुसन्धान गरिरहेको छ । अन्य तीन मृत्युका विषयमा पनि अनुसन्धान चलिरहेको छ । 
 

मोस्कालाई अहिले घरैमा नजरबन्द गरेर राखिएको छ । उनले आफूविरुद्ध लागेका आरोपहरू आधारहीन भएको बताएका छन् । 

उनले कोभिड रोगीहरूलाई ट्युब लगाउनका लागि बेहोश बनाउन सक्कीनीलकोलाइन र प्रोपोफोल दिएको कानूनी कागजातमा उल्लेख गरिएको छ । 

तर ती रोगीहरूलाई ट्युब नै नलगाइएको र मोस्काले एनेस्थेसिया दिनुपर्ने कुनै कारण नरहेको अभियोजन पक्षको जिकिर छ । 

गत अप्रिल महिनामा एक अज्ञात व्यक्तिले उजुरी गरेपछि अभियोजनकर्ताहरूले ह्वाट्सयाप सन्देशहरू प्राप्त गरेका थिए । ती सन्देशमा मोस्काले नर्सहरूलाई अपराधको मतियार बनाउनका लागि फकाउन खोजेको देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्