
थोरै मात्रै ट्रयाक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोरमा धमाधम कालोपत्र अघि बढाइरहेको छ । सडकका विभिन्न खण्डमा कतै वैदेशिक सहयोगमा त कतै नेपाल सरकारको बजेटबाट कालोपत्र अघि बढाइएको छ ।
दक्षिणमा गैँडाकोटबाट उत्तर कोरोलासम्म जोड्ने उत्तर–दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरमा पहिले खुलिसकेका स्थानमा कालोपत्र अघि बढाइएको उत्तर–दक्षिण तथा व्यापारिकमार्ग विस्तार आयोजना निर्देशनालयले जनाएको छ ।
चार सय १७ किमी लम्बाइको यो करिडोरमा अहिले गैँडाकोटबाट राम्दीसम्म १३२ किमी सडक एक्जिम बैंकको ऋण सहयोगमा निर्माण अघि बढाइएको छ । पूरै करिडोरमा गरी १०० किमीबाहेक अरु सडक कालोपत्र गर्न लागिएको निर्देशनालय प्रमुख शिवप्रसाद नेपालले बताए ।
करिडोरमा अझैसम्म ४५० मिटर सडकको ट्रयाक खुलिसकेको छैन र सो सडक यही खण्डमा पर्छ । कालोपत्रको प्रक्रिया अघि बढ्दासम्म ट्रयाक खुलिसक्ने उनको भनाइ छ ।
करिडोरको पहिलो खण्डमा गैँडाकोटबाट राम्दी, दोस्रोमा राम्दीबाट रिडी र तेस्रो खण्डमा रिडीबाट हर्मीचौरसम्मको सडक पर्छ । रिडीबाट हर्मीचौरसम्म १७ किमी सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ । हर्मीचौरबाट मालढुङ्गासम्म ४९ किमी सडकमा नेपाली सेनाले विस्तारको काम गरिरहको छ । यो खण्डका केही भाग गुल्मी र केही बाग्लुङ जिल्लामा पर्छ ।