
गृहमन्त्रालयले गएको पुस २४ गते ९ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई कायममुकायम प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा गर्ने निर्णय गर्यो ।
सशस्त्र प्रहरी नियमवाली–२०७२ अनुसार योग्यता नपुगेको भन्दै ती एसपीलाई कामु एसएसपीमा बढुवा गरिएको थियो ।
बढुवा हुनेमा रेशमकुमार थक्सु, प्रेमध्वज शाह, गाहारधन राई, सोमबहादुर गुरुङ, सुरेशकुमार श्रेष्ठ, दीपेन्द्र शाह, दीपक अधिकारी, पुरुषोत्तम थापा र अञ्जनीकुमार पोखरेल छन् । यो सूचीमा पहिलो बेसिकमा भर्ना भएका इन्स्पेक्टरहरू पनि छन् ।
नियमावलीअनुसार माथिल्लो तहमा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तहमुनिको पदमा ४ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्छ । अर्थात् एसएसपी बन्न एसपीका रूपमा ४ वर्ष सेवा गरेको हुनुपर्छ ।
गत महिना कामु एसएसपीमा बढुवा भएकाहरूले यो मापदण्ड पूरा गर्न अझै १५ महिना पर्खिनुपर्ने हुन्छ । अझै रोचक कुरा त के भने उक्त लटमा बढुवा भएका ३ एसएसपीले बढुवा भएको ३ दिनमै ३० वर्षे सेवाअवधिका कारण अवकाश पाएका छन् ।
यसरी अवकाश पाउनेमा कामु एसएसपी सोमबहादुर गुरुङ, गाहारधन राई र प्रेमध्वज शाह छन् ।
सशस्त्र प्रहरीमा माथिल्लो पदहरूमा बढुवा गर्न मापदण्ड नै नपुग्ने गरी किन यसरी भ्याकुम क्रिएट भयो त ? त्यसको कारण हो, २०६२ फागुनमा भर्ना भएका एक सयभन्दा धेरै सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरू १५ वर्ष पुग्दा पनि बढुवा भएका छैनन् ।
एफपीमा माथिल्लो तहमा योग्य उम्मेदवार नहुनु र तलका कर्मचारीहरू लामो समयदेखि एउटै तह थन्किनुले कार्यसम्पादन र व्यवसायिक वृत्तिमा असर परेको छ ।
एपीएफका प्रवक्ता डीआईजी राजु अर्यालले माथिल्लो तहमा पद रिक्त नभएका कारण बढुवा हुन नसकेको बताउँछन् ।
‘माथिल्लो तहमा खाली नभएका कारण बढुवा नभएको हो । माथि खाली हुनासाथ उहाँहरूको बढुवा हुन्छ,’ डीआईजी अर्यालले लोकान्तरसँग भने ।
अहिले माथिल्लो तहमा सशस्त्रका अधिकांश अधिकृतहरू सेना र प्रहरीबाट आएका छन् । एपीएफमा इन्स्पेक्टरबाट भर्ना भएर आएकाहरूले अहिलेसम्म माथिल्लो तहमा पुग्न सकेका छैनन् ।
अझै २ कार्यकाल आईजीपी समेत सेना वा प्रहरीबाट आएका मध्ये नै हुने पक्का छ ।
सशस्त्र प्रहरीका एक अधिकृत आफूहरू तलको तलै भएकोमा गुनासो गर्छन् ।
‘माथिबाट नै नीतिगत रूपमा एपीएफको करियर कसरी लैजाने भन्नेबारे सोच्नुपर्थ्यो,’ ती अधिकृतले लोकान्तरसँग भने, ‘सेना प्रहरीबाट आएका माथि छन्, हामी एपीएफमा भर्ना भएकाहरू तलको तल नै भयौं ।’
तत्कालीन समयमा विद्रोही माओवादीलाई नियन्त्रण गर्न २०५७ सालमा नेपाल प्रहरी र नेपाली सेनाबाट जनशक्ति लिएर अर्थ सैन्य दस्ताको रूपमा सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो ।
सशस्त्र प्रहरीमा पहिलो बेसिकमा २०५९ कार्तिक २६ गते सशस्त्र प्रहरी निरीक्षकको भर्ना भएको थियो ।
करियर प्लान नहुँदा समस्याः पूर्व गृहसचिव
सशस्त्र प्रहरी बलमा ‘करियर प्लान’ नहुँदा लामो समयसम्म एउटै पद बसिरहनुपर्ने समस्या रहेको पूर्वसचिव श्रीकान्त रेग्मीले बताए ।
‘नेपालका सुरक्षा संगठनहरूमा करिअर प्लानको समस्या छ, जसले गर्दा एउटै पदमा लामो समयसम्म बस्नुपर्ने बाध्यता छ,’ पूर्वसचिव रेग्मीले लोकान्तरसँग भने, ‘यसैको असर स्वरूप एपीएफमा १५ वर्षदेखि एउटै पदमा जागिर खानुपरेको हो ।’
पूर्वसचिव रेग्मीका अनुसार एपीएफले कुन समयमा कस्ता कर्मचारीलाई माथि लैजाने ? कसरी लैजाने ? कति समयमा लैजाने र भावी नेतृत्व कस्ता कर्मचारीलाई सुम्पने भन्ने खालका योजना बनाउनुपर्छ । तर त्यस्ता खालका कुनै पनि योजना नभएका कारण समस्या देखिएको रेग्मीले बताए ।
५ हजार कर्मचारीले छाडे जागिर
एपीएफ प्रधान कार्यालयको तथ्यांकअनुसार ५ हजार जनाले एपीएफको जागिरबाट राजीनामा दिएका छन् । जसमध्ये २४ जना सिनियर अफिसर अर्थात् इन्स्पेक्टर भन्दा माथिका छन् ।
यस्तै ७४४ जना जुनियर प्रहरी अधिकृत अर्थात् सई र असईले जागिर छाडेको तथ्यांक छ । जागिर छाड्ने अधिकांश भने जवान र परिचर छन् ।