०७ असार २०८३, आइतबार

ओली पक्षबाट पौडेल, नेम्वाङलगायत निर्वाचन आयोग जाने, प्रचण्ड–नेपालको सहभागिता अनिश्चित

ओली पक्षबाट पौडेल, नेम्वाङलगायत निर्वाचन आयोग जाने, प्रचण्ड–नेपालको सहभागिता अनिश्चित

चुनावका लागि दल दर्ता गर्न सूचना प्रकाशित गर्ने प्रयोजनमा छलफलका लागि भन्दै निर्वाचन आयोगले बोलाएपछि नेकपा ओली पक्षबाट महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ लगायतका नेताहरू निर्वाचन आयोग जाने भएका छन् ।

आयोगले नेकपाका दुवै पक्षलाई शुक्रवार बिहान साढे ११ बजे छलफलका लागि बोलाएको छ ।

यद्यपि प्रचण्ड–नेपाल पक्षबाट भने को सहभागी हुने भन्ने यकिन भइसकेको छैन । प्रचण्ड–नेपाल पक्षले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल उपत्यका बाहिर रहेको सूचना निर्वाचन आयोगमा पठाउने तयारी गरेको छ । 

‘अध्यक्षहरूले हामी जान्छौं भन्नुभएको छ, तर उहाँहरू राजधानीबाहिर हुनुहुन्छ, हामीले त्यही सूचना निर्वाचन आयोगमा पठाउँछौं,’ नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले लोकान्तरलाई जानकारी दिए ।

प्रचण्ड नेपाल समूहका शीर्ष नेता विरोध सभाका लागि विराटनगर गएका छन् । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले चुनावका लागि आयोगले दल दर्ताको सूचना प्रकाशित गर्न लागेको समयमा नेकपाको दुवै पक्षलाई बोलाएको जानकारी दिए । 

प्रतिनिधि सभा विघटनसँगै नेकपा व्यावहारिक रूपमा विभाजन भएपनि आयोगले नेकपा विभाजनलाई वैधता दिएको छैन । 

अर्कै प्रयोजनका लागि भनेर बोलाए पनि निर्वाचन आयोगले दुवै पक्षसँग विवादकै विषयमा छलफल गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्