२२ जेठ २०८३, शुक्रबार

मलाई न्याय चाहियो भन्दै प्रचण्डले भने– म निस्सन्तान भइनँ, के त्यो मेरो दोष हो ?

मलाई न्याय चाहियो भन्दै प्रचण्डले भने– म निस्सन्तान भइनँ, के त्यो मेरो दोष हो ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले छोराछोरीका लागि मात्र सोचेको भन्ने आरोप लगाएर आफूमाथि अन्याय भइरहेको गुनासो गरेका छन् ।

नेकपा प्रचण्ड-नेपाल समूहले शुक्रवार प्रदेश १ को विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई न्याय चाहिएको समेत बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले आफ्ना छोराछोरीका लागि मात्रै सोचेको भन्ने आरोप लगाएकोमा त्यसको जवाफ दिँदै प्रचण्डले भने–

'तैँले त छोराछोरीका लागि मात्र सोचिस् भन्दै हिँड्याछन् । मैले एउटा टेलिभिजन अन्तर्वार्तामा पनि भनेको थिएँ, सुन्न पाउनुभयो कि भएन, म नपुंसक भइनँ, म निस्सन्तान भइनँ के त्यो मेरो दोष हो ? मेरा छोराछोरीलाई पढ्न अमेरिका पठाइनँ, सँगै लिएर हिँडे त्यो मेरो दोष हो ? गणतन्त्रको लडाईं लड्दा मेरा छोराछोरी रोल्पाको जंगलमा बन्दुक बोकेर हिँडे, के त्यो मेरो दोष हो ?'

प्रचण्डले थपे– 'अत्याचार हुन लाग्यो, ओलीले अत्याचार गर्न खोजे, म न्याय चाहन्छु आदरणीय जनसमुदायहरू ।' 

गएको चुनावका बेलामा आफ्ना छोरीको र छोराको निधन भएपनि आफू देश र जनताका लागि क्रियाशील रहेको बताउँदै प्रचण्डले भने– 'मेरा लागि सबै युवा प्रकाश (प्रचण्डपुत्र प्रकाश दाहाल) हुन् ।'

केही दिनअघि आफूपक्षीय एक भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डले आफ्ना छोरी-ज्वाइँ र सन्तानका लागि मात्र सोचेको भन्दै भनेका थिए– 'बाउ होस् त त्यस्तो, ससुरा होस् त त्यस्तो ...।'

salt training

कमेन्ट गर्नुहोस्