२२ जेठ २०८३, शुक्रबार

हेलम्बुको हिमालयन पदमार्ग निर्माणमा तीव्रता

माघ १७, २०७७
हेलम्बुको हिमालयन पदमार्ग निर्माणमा तीव्रता
प्रतिकात्मक तस्वीर

पर्यटकीय दृष्टिले उत्कृष्टमा पर्ने सिन्धुपाल्चोकको हेलम्बुमा निर्माण भइरहेको हिमालयन ग्रेट ट्रेल (पदमार्ग) निर्माणमा तीव्रता आएको छ ।

हालसम्म २६० मिटर सम्पन्न भएको छ भने नागीडाँडाको बुद्धपार्क र सेर्माथाङ दुवैतिरबाट काम शुरू भएकाले यस वर्ष ३०० मिटर सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

चालू आर्थिक वर्षमा थप १ हजार २७५ मिटर पदमार्ग निर्माण गर्न पर्यटन विभागबाट ४ करोड रुपैयाँमा बोलपत्र स्वीकृति भएको छ ।

विभागको बजेट भए पनि पालिकाकै रेखदेखमा निर्माण हुने र सम्झौतामा जे–जस्तो उल्लेख भए पनि कामको परिमाणबाट मात्र यकिन हुने विभागका इन्जिनीयर सचिन यादवले जानकारी दिए ।

बहुवर्षीय योजनाअन्तर्गत कूल ६० किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको र यसका लागि करीब ३ अर्ब ५० करोड बजेट लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । चीनको ग्रेटवालको झझल्को दिने खालको पदमार्ग आकर्षक र मनमोहक देखिन्छ ।

कडा चट्टानको ढुंगा काटेर इँटा आकारमा तयार गरी निर्माण गरिने हुँदा खर्चिलो हुनाका साथै बढी समय पनि लाग्ने गरेको छ । सिमेन्टको जोडाइमा २ मिटर चौडाइको सिँढी तयार गरी दुवैपट्टि ६० सेन्टीमिटरको पर्खाल निर्माण गरिएको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताए ।

निर्माणको पहिलो रुटमा हेलम्बु गाउँपालिका–१ स्थित नागीडाँडा, बुद्धपार्क, सेर्माथाङ, ज्योमोथाङ, आमायांग्री, भेमटाङ हुँदै गाङजाला भञ्ज्याङमा टुङ्गिनेछ । दोस्रो रुटमा हेलम्बु–६ को घोप्टेघ्याङ, पाकेडाँडा, ढाडेपार्टी सेमिमिदाङ हुँदै गाङजालामै टुंगिने छ ।

दुवैतिरबाट काम शुरू भएको पदमार्ग अन्तिम विन्दुमा पुगेपछि अर्ध चन्द्राकारको हुनेछ । सम्पन्न भएपछि प्रख्यात धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड आवतजावतमा समेत सहजता हुने विश्वास गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्