२८ जेठ २०८३, बिहीबार

हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन : केपी ओली

माघ १७, २०७७
हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनद्वारा शनिवार आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए ।

कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, ‘यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरू अल्मलिँदै गरुन् ।’

उनले जोड दिँदै भने, ‘चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईंहरू ढुक्क रहनुहोस् ।’ 
 
अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, ‘चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।’

नाभी विदेशमा गाडिएकाहरू र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उनको भनाइ थियो । 
 
देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उनले भने, ‘निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाइन्छ ।’
 
नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौं, आत्मविश्वासका साथ देश विकास गर्ने महान् अभियानमा जुटेका छौं ।’
 
माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उनले भने, ‘रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।’

अर्काे सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढंगले प्राणप्रतिष्ठा गर्ने उनले बताए । अयोध्यापुरी अब विश्वका हिन्दूहरू, संस्कृतविद्हरू, पुरातत्वविद्हरू, सभ्यताविद्हरूको गन्तव्य स्थान हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘यो पर्यटकीयस्थल बन्नेछ, धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।’
 
नवलपरासीको दाउन्नेबाट मकवानपुरसम्मको चार हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रूपमा विकास गरिने उनले जानकारी दिए । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उनको भनाइ छ । उनले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताए । 

salt training

कमेन्ट गर्नुहोस्