
‘सुर्खेतका आदरणीय जनसमुदायहरू ! नेकपा स्थायी समितिको तर्फबाट र श्री ५ को सरकारको तर्फबाट यो कार्यक्रममा, ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईँहरुलाई लालसलाम भन्न चाहन्छु...’
नेपाल सरकारका खानेपानी मन्त्री तथा नेकपा ओली समूहका नेता मणि थापाले सुर्खेतमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उनले सम्बोधनका क्रममा तत्काल आफ्नो गल्ती सच्याएपनि सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्यङ्ग्यात्मक रुपमा प्रयोगकर्ताहरूले भिडियो भाइरल बनाएका हुन् ।
थापाले भुल बस श्री ५ को सरकार भनेपछि मन्चमा समेत खासखुस चलेको थियो । यद्यपी उनले क्षमायाचनासहित आफ्नो भनाइ सच्याउँदै सम्बोधन जारी राखेका थिए ।
ओली समूहको सो कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक क्रान्ति सकिएको भन्दै मुलुकमा अब आर्थिक क्रान्ति चाहिएको बताए । उनले भने, ‘नेपालीले देशमै रोजगार पाउनु पर्यो। राजनीति क्रान्तिको अर्थ अब जुलुस, हड्ताल बन्द गर्नुस्, बन्दुक बोक्नुस् तर देश चेन्ज भएन भने त्यसको कुनै अर्थ हुँदैन। प्रधानमन्त्री फेर्दैमा मात्रै केही हुँदैन।’
उनले नेपालमै रोजगारी नपाएसम्म, शान्ति सुरक्षा नपाएसम्म देश परिवर्तन भएको मान्न नसकिने पनि बताए । प्रतिनिधिसभा विघटनपछि नेकपाका दुई समूह आफ्नो पक्षमा माहोल बनाउन देशभर सक्रिय छन् ।