भारतको उत्तर प्रदेशमा एक हजारभन्दा बढी गाउँमा गंगाको तटमा प्रत्येक दिन गंगा आरती गर्ने योजना त्यहाँको सरकारले बनाएको छ ।
बिजनौरदेखि बलियासम्म आरतीको व्यवस्था गरिएको हो । नमामि गंगे विभागको नेतृत्वमा गंगाको किनारमा रहेका १ हजार ३८ गाउँमा नयाँ आरती स्थल बनाइनेछन् ।
गंगाको दुवै किनारमा पाँच किलोमिटरको दायरामा रहेका गाउँमा पर्यटन विभागको सहयोगमा मञ्च बनाइनेछ र त्यहाँ प्रत्येक दिन निश्चित समयमा गंगा आरती आयोजन गरिनेछ ।
धार्मिक पर्यटनलाई प्रवर्धन गर्न यो योजना ल्याइएको बताइएको छ ।
नयाँ आरती स्थल जनसहभागिताका आधारमा सञ्चालन गरिने बताइएको छ ।
गंगा आरतीलाई गाउँ र बस्तीहरूसँग जोडेर योगी सरकारले स्वच्छता अभियानलाई सबभन्दा ठूलो जनअभियानको रूप दिन चाहेको बताइएको छ ।