
रुस सरकारको बफादार एक वेबसाइटले राष्ट्रपति भ्लादिमिर पुटिनको स्वामित्वमा एक अर्ब पाउन्ड पर्ने दरबार रहेको भन्ने दाबीलाई खारेज गर्ने भिडियो सार्वजनिक गरेको छ ।
पुटिनका आलोचक अलेक्सी नाभाल्नीले पुटिनसँग एक लाख ९० हजार स्क्वेयर फीटको दरबार भएको र त्यसमा विलासिताका सबै सामग्री रहेको दाबी गरेका थिए । भ्रष्टाचारको पैसाले उक्त दरबार बनाएको उनको दाबी छ ।
तर शुक्रवार माश टेलिग्राम नामक वेबसाइटले प्रसारण गरेको भिडियो फूटेजमा दरबार भनिएको ठाउँ निर्माणस्थल मात्र भएको र कामदारहरूले भित्री भागमध्ये धेरै फुटाएको देखायो ।
माशका प्रधान सम्पादक म्याक्सिम इक्सानोभ उक्त स्थानको भ्रमणमा गएका थिए र उनले भने, ‘त्यो ठाउँमा कंक्रिटको एक स्ल्याब छ ।’
नाभाल्नीकी प्रमुख सहायक मारिया पेव्चिखले यो भिडियो फूटेजबाट नै हावा आउनेजाने राम्रो ठाउँ नभएकाले ढुसी लागेकाले त्यो दरबारको मर्मत गरिएको पुष्टि गर्ने बताइन् ।
नाभाल्नीले केही दिनअघि बताएका थिए, ‘६ वर्षअघिको भूउपग्रहीय तस्वीरले यो दरबार पूरै तयार भएको देखाएको थियो ।’
पुटिनले दरबार आफ्नो नभएको बताए । तर ओपन मिडिया नामक अनुसन्धानमूलक समाचार वेबसाइटले उक्त भवन निर्माणमा संलग्न ठेकेदारहरूसँग कुरा गर्दा उनीहरूले पुटिनको दरबार भनेका थिए ।
यसैबीच पुटिनका मित्र आर्केडी रोटेनबर्गले त्यो दरबार आफ्नो भएको बताए । विलासी होटल बनाउन लागिएको भनी रोटेनबर्गले बताएका छन् ।