
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू माथि निवेदक पक्षका कानून व्यवसायीहरूको बहस सकिएको छ ।
निरन्तर १३ दिनको सुनुवाइपछि रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको हो ।
सोमवारबाट महान्यायाधीवक्ता अग्नि खरेलसहित सरकारी पक्षका वकिलहरूको बहस शुरू हुने सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले लोकान्तरलाई जानकारी दिए ।
आइतवार लोकेन्द्र ओली, खिमानन्द अधिकारी, पूर्णप्रकाश बस्नेत, दिनेश लामिछाने, केशरजंग केसीलगायतले बहस गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेको छ । ती रिटहरूमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
यही माघ ४ गतेबाट लगातार सुनुवाइ हुँदै आएको छ ।
त्यसअघिको बहस भने रिटहरूको सुनुवाइ कुन इजलासमा गर्ने भन्नेमा केन्द्रित थियो ।