२५ जेठ २०८३, सोमबार
पत्रपत्रिका पहिलो पेज

राज्यका दुई अंगका प्रमुखबीच द्वन्द्व थप चर्किने संकेत, आजदेखि सरकार पक्षबाट बहस

राज्यका दुई अंगका प्रमुखबीच द्वन्द्व थप चर्किने संकेत, आजदेखि सरकार पक्षबाट बहस

सोमबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिकहरुले सभामुख अग्नि सापकोटाले संवैधानिक निकायमा पदाधिकारीहरूको नियुक्ति सिफारिस फिर्ता पठाइदिएको, प्रतिनिधिसभा विघटनसम्बन्धी रिट कर्ताको तर्फबाट बहस सकिएको, चीनले नेपाललाई अनुदानमा खोप दिन लागेको लगायतका समाचारलाई प्रमुखताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि संसदीय वैधता दिन अस्वीकार गरेको खबर छापेको छ ।  संसदीय सुनुवाइ गर्ने संसद् नै विघटन गरेर गर्न खोजिएको नियुक्ति संविधानविपरीत हुने भन्दै उनले संवैधानिक परिषद्ले पठाएको पत्र सक्कलसहित नै फिर्ता पठाइदिएको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले वैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरे पनि कानूनतः नियुक्ति प्रक्रियामा कुनै बाधा नपुग्ने खबर छापेको छ ।
प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गरेर गरेको नियुक्ति सिफारिसलाई सभामुखले फिर्ता गरे पनि नियुक्तिमा कुनै बाधा नपर्ने कानुनी व्यवस्था छ ।

सभामुखले सो नामावली फिर्ता गरे पनि ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०७५’ ले संवैधानिक निकायमा गरिएको सिफारिसले ४५ दिनमा स्वतः कानुनी मान्यता पाउने व्यवस्था गरेकाले नियुक्तिमा कुनै बाधा नहुने देखिएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषि राजभण्डारीले संवैधानिक परिषद्ले गरेको सिफारिस सम्बन्धमा संसदीय समितिमा सुनुवाइ हुन नसके सिफारिस भएको ४५ दिनपछि स्वतः नियुक्ति हुने व्यवस्था कानुनमा स्पष्ट रहेको बताए ।

कान्तिपुरले सभामुखले संवैधानिक पदाधिकारीहरूको सिफारिस फिर्ता गरिदिएपछि राज्यका दुई अंगका प्रमुख बीच द्वन्द्व थप चर्किने देखिएको खबर छापेको छ।  
यसैगरी नयाँ पत्रिकामा सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको खबर छ । नतिजा सार्वजनिक गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डले बिहान १० बजे बोर्ड बैठक बोलाएको समाचारमा उल्लेख छ।  
नयाँ पत्रिकामा नै प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसहित परेका १३ रिट उपर संवैधानिक इजलासमा जारी सुनुवाइमा आइतबार निवेदक पक्षका कानुन व्यवसायीले बहस सकेको खबर छापिएको छ । सोमबारदेखि महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले सरकारको पक्षबाट बहस सुरु गर्नेछन् ।

सोही पत्रिकाले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल जाँदै आएको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसन बन्द भएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले ३१ डिसेम्बर २०२० बाट मिसन बन्द गर्ने निर्णय गरेको हो । मिसन बन्द भएपछि त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी धमाधम फर्कन थालेका छन् । सुडानको डार्फरमा नेपाल प्रहरीको मिसनसमेत छ । जुन आगामी मे महिनाको अन्तिममा फर्कँदै छ ।

नागरिक दैनिकले पनि रिट निवेदकको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकार पक्षबाट बहस सुरु हुने समाचारलाई मुख्य समाचार बनाएको छ । रिट निवेदकतर्फका वकिलहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र पुनःस्थापना नै हुनुपर्ने जिकिर गरेका छन् ।
नागरिक दैनिकमै प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा विभाजित नेकपाको आधिकारिकता विवाद र संसद विघटनलाई लिएर सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ ढिलाइ हुँदा वैशाखमा निर्वाचनको सम्भावना क्षीण हुँदै गएको समाचार छापिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् ।
निर्वाचन आयोगले चुनाव सम्पन्न गराउन ९० दिन बाँकी रहँदा सम्पूर्ण प्रक्रिया सुरु गर्नुपर्ने बताएको छ । निर्वाचन तोकिएको मिति आउन अब ८८ दिनमात्रै बाँकी छ । तर निर्वाचनसँग जोडिएको दुई वटा मुद्दा छिट्टै किनारा लाग्ने सम्भावना कम छ ।

तर गोरखापत्रले प्रतिनिधि सभा विघटनपछि त्यसको पक्ष वा विरोधमा राजनीतिक दलहरू वडा स्तरसम्म पुगेको अवस्थामा निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको तयारीलाई अगाडि बढाएको छ । आयोगका एकजना अधिकारीका अनुसार दल दर्ताका लागि सूचना छिट्टै सार्वजनिक हुनेछ । घटीमा एक सातादेखि बढीमा १५ दिनको अवधि दल दर्ताका लागि दलहरूलाई मिल्नेछ । कति दिन समय दिने भन्ने अन्तिम निर्णय चाहिँ आयोग बैठकले नै तय गर्नेछ ।

नागरिक दैनिकमा पशुपतिनाथ मन्दिरको शिवलिंगमा रहेको चाँदीको जलहरी हटाएर सुनको जलहरी राख्ने तयारी भएपछि विवाद बढेको समाचार छ। पुरानो  जलहरीमा खिया पनि लागिसकेकाले त्यसलाई निकालेर सुनको जलहरी राख्ने तयारी भएको हो।  

यसरी जलहरी परिवर्तन गरिनु प्राचीन स्मारक ऐनका साथै शैव दर्शनविपरीत भएको तर्कसहित विरोध सुरु भएको हो। स्मारकसम्बन्धी ऐनले नयाँ संरचना वा वस्तु थप्न निषेध गरेको छ। सरकारले भने सुनको जलहरी राख्ने कार्य अघि बढाइसकेको छ।

गोरखापत्रमा त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको खबर पनि छापिएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो ।

यस्तै गोरखापत्रमै निजगढ विमानस्थल सरकारले नै बनाउने, ८८ हजारले कोरोना खोप लगाएको लगायतका खबर पनि पहिलो पेजमा छापिएको छ ।
राजधानी दैनिकले चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराउन लागेको खबर छापेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार नेपाललाई छिटै अनुदानमा खोप दिन लागिएको हो । संसारभरि र चीनभित्रै पनि भ्याक्सिनको ठूलो माग भए पनि नेपालसँगको घनिष्ट सम्बन्धका कारण चीनले नेपाललाई खोप दिन लागेको दूतावासले स्पष्ट पारेको छ ।
अन्नपूर्ण पोस्टले ‘बीपी प्रतिष्ठान भ्रष्टाचारको अखडा’ शीर्षकमा समाचार छापेको छ । समाचारमा बीपी प्रतिष्ठानमा भएको अनियमितताका विषय उजागर गरिएको छ ।

कान्तिपुर दैनिकले ‘ओलीले किन रोजे नारायणहिटीको आँगन’ शीर्षकमा समाचार छापेको छ। प्रधानमन्त्री केपी ओलीले सभा गर्ने र सम्बोधन गर्ने ठाउँ नारायणहिटीको आँगनलाई नै बनाउनुको कारण के होला ? नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेले धर्मनिरपेक्षता र गणतन्त्रको उपलब्धि विरुद्धमा ओलीको पछिल्लो गतिविधिकै सिलसिलास्वरूप उक्त ठाउँ चयन गरिएको हुन सक्ने भन्दै त्यसले आफू अचम्ममा परेको बताए ।

‘नारायणहिटी अघिल्तिर सभा हुँदै छ रे भन्ने सुन्दा म पनि छक्क परें, त्यो त हामीले २०४६ देखि आन्दोलन गरेको ठाउँ हो, सरकार नै गएर आन्दोलन गर्ने भनेको के हो, मैले बुझेको छैन तर पक्कै अर्थ छ,’ उनले भने, ‘सरकार सडकमा आउने भनेको मरीचमानको पालामा मात्रै थाहा थियो मलाई त । उनको मनमा के–कस्तो कुरा छ, ओली आफैं जानून् तर राममन्दिर, पशुपतिदेखि नारायणहिटी अघिल्तिरसम्मको कुरा आपसमा कनेक्टेड हुन् र हामीलाई अचम्म बनाउने विषय पनि हुन् ।’

salt training

कमेन्ट गर्नुहोस्