०२ असार २०८३, मंगलबार

तुइनमा सास्ती, नहुँदा झनै सास्ती

माघ १९, २०७७
तुइनमा सास्ती, नहुँदा झनै सास्ती
फाइल तस्वीर

सरकारी कामकाजमा निक्लन पर्दा होस् वा बजार जाँदा, पश्चिम–उत्तरी दार्चुलावासीलाई तुइन नचढी धरै छैन । तुइनबाट महाकाली नदी तरेर भारतीय बाटो हुँदै उनीहरू सदरमुकाम पुग्छन् । व्यास गाउँपालिकाको धौलाकोटमाथिको क्षेत्रबाट सदरमुकाम पुग्न महाकाली तर्नैपर्छ ।

तर कोरोना महामारीका कारण चैत दोस्रो सातादेखि नै तुइन बन्द गरिएको छ । तुइन रोकिँदा त्यस क्षेत्रका करिब दर्जन गाउँका बासिन्दा अनकन्टार टापुमा बसेजस्ता हुन पुगेका छन् । ‘हाम्रा लागि तुइनको विकल्प छैन । सरकारले नेपाल–भारत सीमा नाका खोल्ने निर्णय गरेको सुनिन्छ, यहाँको तुइन पनि खोलिदिए हुने,’ व्यास–३ का रमेशसिंह कुँवरले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकाल (२०७२ साल) मै दुई वर्षभित्र तुइन विस्थापन गर्ने उद्घोष गरेपछि यहाँका बासिन्दा उत्साहित भएका थिए । तर तुइन विस्थापन गर्न यहाँ झोलुङ्गे पुल बनेनन् । उल्टै कोरोना महामारीमा तुइन पनि बन्द गरिएपछि दार्चुलावासी समस्या झनै चुलिएको बताउँछन् ।

सरकारले नभएको पुलभन्दा भएकै तुइन चढ्न दिए जाती हुने उनीहरूको भनाइ छ । ‘स्वदेशकै बाटो हिँडे सदरमुकाम पुग्न दुई दिन लाग्छ,’ व्यास–२ राप्लाका हरकसिंह बुढाथोकीले भने, ‘तुइनबाट भारत पुगेर मोटरमा जाँदा एक दिनमै सदरमुकाम पुगेर घर फर्किन सकिन्छ ।’

महाकालीको तुइन विस्थापन गरेर भरपर्दो माध्यमबाट नेपाल–भारत आउजाउ गर्ने वातावरण बनाइदिन स्थानीयले दशकौंदेखि सरकारलाई आग्रह गर्दै आएका थिए । ‘बहुदल आएदेखि नै नेताहरूलाई पुल बनाइदिन गुहारेका थियौं,’ स्थानीय जगतसिंह धामीले भने, ‘तर पुल कहिल्यै बनेन ।’

दार्चुलामा नेपाल–भारत जोड्ने महाकालीका तुइन विस्थापन गर्न १० स्थानमा झोलुङ्गे पुल बनाउन सिफारिस गरिएको थियो । तीमध्ये निर्माणाधीन ४ पुल पनि कोरोना महामारीका कारण अलपत्र परेका छन् ।

सुरक्षाका हिसाबले यो क्षेत्रमा पुल निर्माणका लागि भारतीय पक्षले आलटाल गरेकाले पनि ढिलाइ हुन पुगेको धामीको विश्लेषण छ । डेढ वर्षअगाडि भारतले व्यासका बडुगाउँ, मडगाउँ र माल तथा मालिकार्जुन गाउँपालिकाको बाकुमा झोलुङ्गे पुल बनाउन सहमति जनाएको थियो । त्यहाँ काम सुरु भए पनि कोरोनाले रोकियो । फेरि काम सञ्चालन गर्न ठेकेदार कम्पनीले सरकारलाई आग्रह गर्दै आएको छ । निर्माण व्यवसायीका अनुसार दुई महिनादेखि सामान भारत लैजान सहजीकरण गर्न जिल्ला प्रशासनलाई लिखित रूपमै अनुरोध गरिएको छ ।

तर सुनुवाइ नभएको पुल निर्माणमा संलग्न मनमालिका निर्माण सेवा कञ्चनपुरका प्रोप्राइटर रघुवीरसिंह साउदले बताए । ‘नाका बन्द हुँदा सामान लैजान पाइएन,’ उनले भने, ‘पुलको लट्ठा र स्टिलका सामान सदरमुकाममै छरपस्ट राख्नुपरेको छ ।’ दुई पुल बनाउने जिम्मा पाएको मनमालिका निर्माण सेवाले दुवै ठाउँमा ६० प्रतिशतभन्दा बढी काम सकिएको जनाएको छ ।

व्यास–६ बडुगाउँमा एक सय २५ मिटर, २ नम्बर वडाको मालमा एक सय ३५ मिटर, ४ नम्बर वडाको मडगाउँमा एक सय १६ मिटर र मालिकार्जुन–६ बाकुमा एक सय ३५ मिटर लम्बाइको पुल बनाउने तय भएको छ । बडुगाउँ र बाकुको झोलुङ्गे पुल निर्माणको जिम्मा मनमालिका निर्माण सेवा कञ्चनपुरले दुई करोड ५५ लाख ६४ हजारमा पाएको हो । माल र बर्तिघाट (मडगाउँ) को झोलुङ्गे पुल बनाउन खम्पाचे/रुबिना जेभी काठमाडौंलाई दुई करोड ७३ लाखमा जिम्मा दिइएको छ ।

तुइन बन्द भएपछि व्यासका दुम्लिङ, कासाण, साङ्नाडी, माल, तोसरपानी, राप्लालगायत गाउँका बासिन्दा मर्कामा परेका हुन् । व्यास–२ साङ्नाडीका गोविन्दसिंह विष्टले महाकालीको तुइन बन्द भएपछि स्थानीय बजारमा सामान महँगिएको बताए । ‘दुई–अढाई दिन पिठ्युँमा बोकेर सामान गाउँमा पुर्‍याउँदा महँगो भएको छ,’ उनले भने । कान्तिपुर दैनिकमा मनोज बडुले खबर लेखेका छन्  ।

salt training

कमेन्ट गर्नुहोस्