
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ । सो समूहका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक बबरमहलस्थित एक पार्टी प्यालेसमा सोमबार बिहान ११ बजे बस्ने कार्यसूची छ । नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।
यसैबीच ओली समूहले भने बैठक राखिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको विधान, अभ्यास, प्रचलन र निर्वाचन आयोगको पछिल्लो निर्णयसमेतका आधारमा अध्यक्षसँगको परामर्शमा महासचिवले मात्रै बैठक बोलाउन सक्ने ओली समूहको भनाइ छ ।
ओली नेतृत्वको नेकपाको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले प्रेस नोट जारी गर्दै हाल महासचिव विष्णुप्रसाद पौडेलबाट कुनै पनि बैठक नबोलाइएको स्पष्ट गरिएको छ ।
नेकपाका दुबै समूहले आफू आधिकारिक नेकपा रहेको दावी गर्दै आएका छन् ।