
संवैधानिक परिषद्को पत्र फिर्ता पठाएपछि संघीय संसद्को दुई सदनका प्रमुख सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाबीच खटपट शुरू भएको छ ।
संसदीय सुनुवाई समिति संयुक्त सदनको समिति भएपनि आफूसँग परामर्श नगरी परिषद्को पत्र फिर्ता पठाएकोमा अध्यक्ष तिमल्सिनाले असन्तुष्टि जनाएका हुन् ।
सुनुवाई समिति अस्तित्वमा नभएको भन्दै सापकोटाले आइतवार परिषद्को पत्र फिर्ता पठाएका थिए ।
संयुक्त सदनको अवधारणा विपरीत सभामुख सापकोटाले आफूसँग परामर्श नगरी पत्र फिर्ता गरेको भन्दै तिमल्सिना असन्तुष्ट भएका हुन् ।
१५ सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधि सभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य रहने व्यवस्था छ ।
प्रतिनिधि सभा विघटन भएपनि संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा कायम छ ।
पछिल्लो घटनाक्रमका विषयमा जानकारी गराउन अध्यक्षले पत्रकार सम्मेलन बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।
दिउँसो साढे २ बजे पत्रकार सम्मेलन आयोजना गरिएको अध्यक्ष तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए ।
प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच यसअघि पनि खटपट भएको थियो ।
गोपालनाथ योगीलाई संघीय संसदको कार्यबहाक महासचिव तोक्दा पनि आफूसँग परामर्श नगरिएकोमा अध्यक्ष तिमल्सिनाले आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र अध्यक्ष तिमल्सिना सहितको संवैधानिक परिषद्को बैठकले मंसिर ३० गते विभिन्न संवैधानिक निकायमा नियुक्तिको सिफारिश गरेको थियो ।