
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०७८ सालको वैशाख १७ र २७ गतेमै चुनाव हुने दावी गर्दै तयारी थाल्न आग्रह गरेका छन् ।
चुनाव कुनै पनि हालतमा पर नसर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
महोत्तरीको ढल्केवरमा नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनको सोमवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वैशाखको चुनाव पछि मुलुक नयाँ शिराबाट अगाडि बढ्ने बताए ।
‘यस क्षेत्रमा (तराई) मा वैशाख १७ गतेमै चुनाव हुन्छ । तपाईंहरू तयारी गर्नुस्, चुनाव १ दिन पनि पर सर्दैन,’ ओलीले भने, ‘कोही चुनाव नगराउन भनेर निर्वाचन आयोग जान्छन्, निर्वाचन आयोगको काम नै चुनाव गराउने हो, आयोगले चुनाव गराउँछ । हामी नयाँ शिराबाट देश बनाउँछौं ।’
ओलीले केही सय जनाले पार्टी छाड्दा फरक नपर्ने बताए । ‘२–४ जना नेता जाँदा पार्टीमा संकट आउँछ ? ३ करोड जनता छन् । पार्टी छाडेर कस्ता गए ? देश बनाउने खालका गए, देशभक्ति भएका, जनतालाई सुख दिने खालका गए र ?’ पार्टी छाडेकाप्रति ओलीले टिप्पणी गरे ।