भारतमा अर्थमन्त्रीले बजेट भाषण गर्नुअघि कागजात राखिएको अनि छालाबाट बनेको ब्रीफकेस बोक्ने गरेकोमा त्यस परम्परालाई यो वर्ष तोडिएको छ ।
संसदमा पहिलोपटक पेपरलेस बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री निर्मला सीतारमणले छालाको ब्रीफकेसमा नभई ट्याब्लेटमा बजेट लिएर संसद् भवन आएकी थिइन् ।
बजेटका कागजात भएको भारीभरकम ब्रीफकेसलाई रातो कपडाले मोरेर संसद् भवनमा ल्याउने र वाचन गर्ने गरिएकोमा यसपालि ट्याब्लेटलाई राष्ट्रिय प्रतीक जडिएको रातो ब्रीफकेसमा राखेर ल्याइएको थियो ।
अर्थमन्त्रीले युनियन बजेट मोबाइल यापको शुभारम्भ गरेकी छन् । सांसद र सर्वसाधारणलाई बजेट कागजातमा पहुँच दिनका लागि यो याप ल्याइएको हो ।
डिजिटल डिभाइसमार्फत बजेट प्रस्तुत गरेकी सीतारमणले लगातार तीन वर्ष बजेट भाषण गर्ने भारतीय इतिहासकै पहिलो महिलाको कीर्तिमान पनि बनाएकी छन् । सन् २०१९ मा बजेट प्रस्तुत गर्ने उनी भारतको इतिहासमा दोस्रो महिला हुन् ।