
भरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् ।
टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि महानगरपालिकाले ५ विद्यालयलाई बस खरिद गर्न १ करोड निकासा समेत गरेको छ ।
महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार चालू आर्थिक वर्षमा ५ विद्यालयलाई बस किन्न १ विद्यालयलाई २० लाख रुपैयाँका दरले प्रदान गर्न सम्झौता गरिसकिएको छ । कविलाश, नारायणी नमूना, भीमनगर, प्रभात र लक्ष्मी माध्यामिक विद्यालयलाई बस खरिदका लागि रकम विनियोजन गरिएको हो ।
ती विद्यालयले महानगरपालिकासँग सम्झौता गरी बस खरीदका लागि बोलपत्र आह्वान गरेका छन् ।
उनले भने, ‘हामीले २० लाख रुपैयाँका दरले रकम दिने गरी सम्झौता गरेका छांै । अपुग भए विद्यालयले थप्नेछन् ।’ भन्सार छुट गर्दा २२ लाख रुपैयाँको हाराहारीमा बस आउने जनाइएको छ ।
प्रमुख पौडेलका अनुसार वाग्मती प्रदेश सरकारको सहयोगमा हिमालय दण्डपाणि विद्यालयले बस खरिद गरेर गत वर्षबाट सञ्चालनमा ल्याएको छ ।
यसैगरी आन्तरिक स्रोतबाट जानकी, भानु र प्रेमबस्ति माध्यामिक विद्यालयले पनि बस खरिद गरेर सञ्चालन गर्दै आएका छन् ।
बस सञ्चालनका लागि लाग्ने खर्च विद्यार्थीबाट उठाइँदै आएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले धेरै विद्यार्थी भएका, टाढाबाट आउनुपर्ने र प्राविधिक विषयको पढाइ गर्ने विद्यालयलाई पहिलो चरणमा बस दिइएको जानकारी दिए ।
यसको प्रभावकारिता हेरेर आउँदो वर्ष थप विद्यालयलाई बस किन्न सहयोग गरिने उनको भनाइ छ । उनले भने, ‘महानगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सहयोग गरिँदै आएको छ ।’
छात्राहरूलाई साइकलदेखि विपन्न विद्यार्थीलाई न्यानो कपडा समेत बाँड्दै आएको जनाउँदै उनले विद्यार्थीको गुणस्तर वृद्धि गर्नका लागि विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।
महानगरभित्र १२३ सामुदायिक र ९७ संस्थागत विद्यालय रहेका छन् । सामुदायिकमा ३५ हजार र संस्थागतमा ४० हजार विद्यार्थी अध्ययनरत रहेका छन् । अधिकांश संस्थागत विद्यालयले विद्यार्थी ओसार्न बस प्रयोग गर्दै आएका छन् ।
नमूना विद्यालयका रुपमा चिनिएको नारायणी नमूना माविका प्राचार्य पूर्णप्रसाद दवाडी महानगरले शैक्षिक गुणस्तर विकासका लागि आवश्यक सहयोग गर्दै आएको बताए ।