
तनहुँको भीमाद नगरपालिका–५ र ६ जोड्ने ऋषिङपाटनमा आगामी वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा भीमाद ऋषिङपाटनमा कालोपत्रको काम अगाडि बढेको हो ।
गत वर्षको मंसिर पहिलो हप्तादेखि काम शुरू गरिए पनि कोभिडका कारण बीचमा काम प्रभावित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
वैशाखसम्म सडक कालोपत्र सम्पन्न गर्ने गरी काम अगाडि बढेको कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।
सडक कालोपत्र गर्ने म्याद विक्रम संवत् २०७७ पुस २२ गतेसम्म रहे पनि २५ प्रतिशत समयअवधि थप भएको छ । ‘बेस हाल्न शुरू भइसकेको छ, वैशाखसम्म काम सम्पन्न गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन्,’ ढुंगानाले भने ।
ट्रयाक खुलेको २४ वर्षपछि मार्ग कालोपत्र हुन लागेको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत १२ करोड ७८ लाख ९८ हजार ५७३ रुपैयाँको लागतमा सडक कालोपत्रको ठेक्का लागेको छ ।
सडकको ट्रयाक विक्रम संवत् २०५२ सालमा खुलेको थियो । सडक कालोपत्रका लागि काठमाडौंस्थित महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्नसँग गत असोज २३ गते सम्झौता भएको थियो ।
६ किमी सडकको १० मिटर दायाँबायाँमध्ये ९ मिटरमा कालोपत्र गरिनेछ । सडकको १/१ मिटरमा नाला निर्माण हुनेछ । धुँवा र धुलोबाट आक्रान्त भएका स्थानीयलाई मोटरमार्ग कालोपत्र भएपछि सहज हुनेछ । सडक एक निर्वाचन क्षेत्र एक सडकअन्तर्गतको योजना हो ।
ट्रयाक खुलेको लामो समयपछि मोटरमार्गमा कालोपत्रको काम शुरू भएपछि स्थानीय खुशी भएको मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष गञ्जसिंह गुरुङले बताए । सडक कच्ची हुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्याले यहाँका स्थानीयवासी आक्रान्त हुँदै आएको गुरुङले बताए ।
‘सडक कालोपत्र सम्पन्न भएसँगै धुलोको समस्याबाट मुक्ति पाइने भएको छ,’ गुरुङले भने ।