
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिलोपटक २०६५ सालमा प्रधानमन्त्री बनेको समयमा गरेको पहिलो निर्णयको माइन्युट लुकाइएको दाबी गरेका छन् । तर त्यो माइन्युट कसले लुकायो भन्ने उनले खुलाएनन् ।
‘म व्यक्तिगत ढंगले प्रधानमन्त्री बनेको थिइनँ, आन्दोलनले बनाएको थियो । प्रधानमन्त्री बनेपछि पहिलो निर्णय जनयुद्धमा मारिएकालाई शहीद घोषणा गर्ने थियो,’ पूर्व लडाकुको भेलालाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले गरेको निर्णयको माइन्युट लुकाइएको छ ।’
प्रचण्डले भूपि शेरचनको कविता सम्झँदै आफू पनि पीडित रहेको दाबी गरे । ‘भूपिले ‘तिमी त मरेर जाने शहीद भयौ, बाँच्नलाई त झन गाह्रो...’ भनेका थिए, मलाई पनि त्यस्तै भएको छ’ प्रचण्डले भने ।
श्रीलंकाको तमिल विद्रोह र पेरुको साइनिङ पाथको आन्दोलन सम्झँदै उनले शान्ति प्रक्रियामा आउने कदम सही भएको दाबी गरे ।