
सनातन धर्म विज्ञानमा आधारित छ । आयुर्वेददेखि पूजा विधिसम्मत सनातन धर्ममा भएका नियमले मनुष्यलाई कुनै न कुनै लाभ दिन्छन् ।
हिन्दू धर्मग्रन्थमा उल्लेख गरिएका कतिपय कुराहरू विज्ञानसम्मत रहेको तथ्य उजागर हुँदै आएका छन् । यहाँ हामी हिन्दू धर्ममा गरिने कतिपय व्यवहारको वैज्ञानिकताका विषयमा चर्चा गर्दैछौं ।
घन्टी बजाउनु
हिन्दू धर्ममा घन्टी बजाउन अनिवार्य छ । घन्टी बजाउँदा वातावरणमा कम्पन उत्पन्न हुन्छ र टाढासम्म पुग्छ । त्यसको दायरामा रहेका सबै विषाणुहरू नष्ट हुन्छन् र वातावरण शुद्ध हुन्छ ।
घन्टीको ध्वनिले मनमा भक्तिभाव जगाउँछ । यसको लयमा जोडिँदा मनले शान्त अनुभव गर्छ । घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरमा ऊर्जा तथा शक्ति सञ्चार गर्छ ।
घन्टीबाटै प्रेरित भएर आधुनिक घरहरूमा विन्ड चाइम राख्ने गरिएको छ । यसको ध्वनिले नकारात्मक शक्तिलाई घरमा ढिम्किन दिँदैन ।
शंख बजाउनु
सनातन धर्ममा पूजाको समयमा शंखनाद गर्नु शुभ मानिन्छ । शंख बजाउँदा फोक्सो बलियो हुन्छ । श्वासप्रश्वासको रोग पनि लाग्दैन । शंखको ध्वनि पुगेको ठाउँसम्म रोगाणुहरू नष्ट हुन्छन् ।
जर्मनीको बर्लिन विश्वविद्यालयले शंखध्वनिसम्बन्धी अनुसन्धान गरेको छ । त्यसका अनुसार, शंखध्वनिका तरंगहरूले ब्याक्टेरिया तथा अन्य रोगाणु नष्ट गर्ने सर्वोत्तम औषधि हो ।
शंखमा जल राखेर अर्घ्य दिइन्छ र पूजापछि त्यो जल सबै भक्तहरूमा छर्किन्छ । शंखमा भएको फोस्फोरस र क्याल्सियम पानीमा मिसिन्छ र त्यो पानी छर्किइँदा स्वास्थ्य राम्रो रहन्छ ।
दियो बाल्नु
सनातन परम्परामा पूजाको समयमा अग्निको ठूलो महत्त्व छ । वेदहरूमा अग्निलाई प्रत्यक्ष देवता स्वरूप मानिएको छ । पूजाको समयमा घ्यूको दियो प्रज्वलन गर्नुको महत्त्व बताइएको छ ।
गाईको दूधबाट बनेको घ्यू बाल्दा वातावरण शुद्ध र प्रदूषणमुक्त हुन्छ ।
तिलक लगाउनु
पूजा गर्दा मस्तिष्कमा तिलक लगाइन्छ । पूजामा प्रायः चन्दन, अबिर र सिन्दूरको उपयोग गरेर तिलक लगाइन्छ । तिलकले मस्तिष्कलाई शीतलता प्रदान गर्छ ।
यसले मस्तिष्कमा सेराटोनिन र बिटा एन्डोर्फिनको स्रावलाई सन्तुलनमा राख्छ । यसबाट नकारात्मकता हट्छ र मन उत्साहले भरिन्छ । तिलकले छालालाई पनि सुन्दर राख्छ ।
कपूर बाल्नु
हिन्दू धर्ममा पूजाकर्ममा कपूर बाल्ने चलन छ । कपूरले वायुमण्डललाई शुद्ध बनाउँछ । कपूर बालिएको स्थानमा नकारात्मक ऊर्जा नष्ट हुन्छ । रोगाणुहरू पनि नष्ट भएर रोग नजिक आउन पाउँदैन । कपूरले कफ, गर्दनमा पीडा, बाथरोग र मांसपेशी तन्किने समस्या पनि हटाउँछ ।