११ असार २०८३, बिहीबार

व्यवस्थित सहरीकरणको योजना कार्यान्वयन, ८७ करोड ८८ लाख ८८ हजार रुपैयाँ बजेट सम्झौता

माघ २२, २०७७
व्यवस्थित सहरीकरणको योजना कार्यान्वयन,  ८७ करोड ८८ लाख ८८ हजार रुपैयाँ बजेट सम्झौता
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

शहरी विकास मन्त्रालयले मानव जीवनको जन्मदेखि मृत्युसम्म उपयोगी तथा आवश्यक हुने भौतिक निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ ।

आवासविहीनका लागि जनता आवास कार्यक्रम, सामाजिक पूर्वाधारका रूपमा अस्पताल, स्वास्थ्य चौकी, हरियाली पार्क, मनोरञ्जन पार्क, शवदाह गृह, सडक निर्माण जस्ता पूर्वाधार निर्माणमा जोड दिइने भएको हो ।

“हामीले भौतिक पूर्वाधार मात्रै नभएर मानव जीवनको जन्मदेखि मृत्युसम्म आवश्यक पर्ने पूर्वाधार विकासका काम अगाडि सारेका छौँ”, मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले भने । सामाजिक पुँजीका रूपमा आवश्यक पूर्वाधार निर्माण गरी समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई मूर्त रूप दिने गरी मन्त्रालयले योजना अगाडि बढाएको छ ।

मन्त्रालयले आगामी तीन वर्षभित्र सात लाख ५० हजार फुसका छाना विस्थापन गर्ने योजना अगाडि सारेको छ । चालू आर्थिक वर्षमा एक लाख ५० हजार सुरक्षित नागरिक आवास भवन निर्माण गर्ने कार्यक्रम छ ।

यस्तै व्यवस्थित र योजनाबद्ध सहरीकरणका लागि देशभर हाल तीन सय किलोमिटर सडक कालोपत्रे, ४३ वटा ठूला बसपार्क, ४० वटा सभाहल तथा सिटी हल, ५० भन्दा बढी मनोरञ्जन र हरियाली पार्क निर्माणका योजना अगाडि सारिएको छ ।

देशभरका २७ वटा नयाँ सहर र भरतपुर महानगरसहित १४ वटा स्मार्ट सिटीका सहर निर्माणको योजना अघि बढाइएको सचिव सिंहले जानकारी दिनुभयो । मन्त्रालयले भरतपुर अस्पतालमा बिरामी कुरुवा घर, भरतपुर महानगरमा १८ किलोमिटर सडक कालोपत्रे काम सकेको छ भने यसै आर्थिक वर्षमा ४२ किमी सडक निर्माणाधीन अवस्थामा छ । महानगर सिटी हल, रत्ननगर सभाहल, सौराहा सभाहल, रानीपोखरी पार्क, लक्ष्मीनारायण पार्क, केन्द्रीय बसपार्क र देवघाट शव दाहसंस्कार गृह निर्माणको कामलाई मन्त्रालयले अघि बढाएको छ ।

मन्त्रालयले अघि सारेका योजनामध्ये भरतपुर महानगर सिटी हल मुख्य योजना हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्र एक विशेष समारोहबीच यसको शिलान्यास गर्नुभयो । सिटी हलका लागि मन्त्रालयले एक अर्ब २० करोड रुपियाँविनियोजन गरेको छ ।

यद्यपि, गत मङ्सिर १८ गते सम्झौता भई इन्डो, सगुन, रौताह जेभीले संयुक्त रूपमा निर्माण गर्न लागेको छ । यो योजनाका लागि ८७ करोड ८८ लाख ८८ हजार ८८८ रुपियाँ बजेटमा सम्झौता गरिएको छ । सिटी हल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । नेपाली मौलिक शैलीमा निर्माण गरिने यो हलमा दुई हजार जनासम्म अट्न सक्ने क्षमता रहनेछ । गोरखापत्र दैनिकमा वसन्त पराजुलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्