
तपाईंका कलिला सन्तानलाई क्यान्सर लागेको छ ? नआत्तिनुहोस्। कान्ति बाल अस्पतालमा उपचार सस्तो छ। उपचारपछि क्यान्सर निको हुन्छ।
अस्पतालका निर्देशक प्रा. डा. आरपी बिच्छाका अनुसार क्यान्सर भएका १४ वर्षमुनिका बालबालिकामध्ये अधिकांश निको भएका छन्। विपन्न परिवारका बालबालिकाका लागि अस्पतालको स्रोतले भ्याएसम्म ओपीडी टिकट किनिदिने र आवश्यक औषधिसमेत निःशुल्क दिने गरिएको निर्देशक डा. बिच्छाले बताए। ‘छोराछोरीलाई क्यान्सर हुँदैमा नआत्तिनुहोस्। गरिब बिरामीको सकभर सबै उपचार निःशुल्क गर्छौं। उपचारपछि निको पनि हुन्छ’, डा. बिच्छाले भने।
क्यान्सर लागेका बालबालिकाको उपचार भरतपुरस्थित बीपी क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा पनि हुने गरेको छ। तर, अधिकांशको उपचार कान्तिमा भइरहेको वरिष्ठ बाल क्यान्सर रोग विशेषज्ञ डा. विष्णुरथ गिरीले बताए। ‘बालबालिकामा हुने अधिकांश क्यान्सर उपचारपछि निको हुन्छ’, डा. गिरीले भने। विकसित मुलुकमा ९० प्रतिशतसम्म निको भएका छन्। कान्तिमा ६० देखि ७० प्रतिशत निको हुने दर रहेको डा. गिरीको भनाइ छ।
कान्तिमा ६ वर्षअघि ४४ बालबालिकामा क्यान्सर निदान गरिएको थियो। अहिले १ सय ६० देखि १ सय ९० जनासम्म बिरामीको उपचार हुने गरेको छ। बिरामीका लागि छुट्याइएका शय्या भरिभराउ हुने गरेका छन्। डा. बिच्छाका अनुसार बिरामीको चाप बढ्दै गएका कारण शय्या पनि वृद्धि गरिएको छ।
अधिकांश शय्यामा रक्त क्यान्सरका बिरामी भेटिन्छन्। चिकित्सकका अनुसार क्यान्सर बिरामी प्रत्येक तीन बालबालिकामध्ये एक जनामा रक्त क्यान्सर देखिने गरेको छ। यसबाहेक ब्रेन ट्युमर, आँखा, मिर्गौलाको क्यान्सरका बिरामीको संख्या पनि उल्लेख्य छ। क्यान्सरको प्रकृति र अवस्था हेरेर तीन वर्षसम्म उपचार गराउनुपर्ने हुन्छ। रोग बल्झने सम्भावना रहेकाले पाँच वर्षसम्म नियमित फलो अपमा राख्नुपर्ने चिकित्सक बताउँछन्।
नेपालमा वार्षिक झन्डै १ हजार ५ सय बालबालिकालाई क्यान्सर हुने गरेको अनुमान छ। जसमध्ये ४ सय मात्र उपचारको पहुँचमा रहेको अस्पतालले जनाएको छ। बाँकी व्यक्ति उपचारको पहुँचबाहिर रहेको अनुमान छ।
डा. बिच्छाले चालु वर्षदेखि सातै प्रदेशमा क्यान्सरका बिरामीलाई उपचारको पहुँचमा ल्याउने संरचना निर्माण गर्न लागिएको बताए। उनका अनुसार सातै प्रदेशमा चार बेडको डेडिकेटेड प्रदेश सेन्टर खोल्ने योजना छ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा दुई वटा सेन्टर, बेलायतको वल्र्ड चाइल्ड क्यान्सरको सहयोगमा दुई र नेपाल सरकारको सहयोगमा तीनवटा खोल्ने योजना छ। ‘उपचारमा संलग्न स्वास्थ्यकर्मी जनशक्तिलाई हामी स्थानीय तहमै गएर तालिम दिन्छौं’, उनले भने, ‘फलो अपका लागि काठमाडौं आइरहन नपर्ने र बलियो रेफ्रल प्रणाली पनि बन्छ।’
कान्तिले चार शय्या छुट्याएर क्यान्सरको उपचार सेवा सुरु गरेकामा अङ्कोलोजी विभागमा २६ शय्या छन्। जुन भरिएको अवस्थामा अन्य वार्डमा पनि राखेर उपचार गरिन्छ। अस्पतालमा ८ शय्याको दिवा उपचार सेवा ( डे केयर सर्भिस) छ। ८० देखि ९० प्रतिशत शय्या भरिएकै हुने चिकित्सक बताउँछन्।
मुलुककै पहिलो बाल क्यान्सर विशेषज्ञ डा. कैलाश शाहले अस्पतालको अङ्कोलोजी युनिट स्थापनामा योगदान गरेका थिए। अस्पतालले हासिमोतो ट्र«स्ट फन्ड, अङ्कोलोजी फन्डबाट र स्वास्थ्य कर कोषमार्फत निःशुल्क औषधि वितरण गर्दै आएको छ। विपन्न नागरिक औषधोपचार कार्यक्रमलाई अस्पतालले प्राथमिकता दिँदै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५ लाखको बजेट विनियोजन गरेको छ।
‘हाम्रै सुझबुझका कारणले औषधिका लागि बजेट व्यवस्थापनमा समस्या भएको छैन। डोनेसनमा आएको रकमको ब्याजबाटै क्यान्सरका बिरामीका लागि औषधि निःशुल्क गर्न सम्भव भएको हो’, डा. बिच्छाले भने।
डा. गिरीका अनुसार बिरामीको संख्या बढ्दै गएकाले पूर्वाधारका साथै चिकित्सक र नर्सको दरबन्दी वृद्धि गर्नुपर्ने खाँचो छ। ‘छोराछोरीलाई क्यान्सर भएको छ भने कान्ति बाल अस्पतालमा ल्याउनुस्। उपचार सस्तो छ’, डा. गिरीले भने, ‘बेड नै पाइएन भनेर उपचार नपाई फर्कनुपर्ने अवस्था छैन। अरू बेडमा राखेर भए पनि उपचार गर्छौं। बालबालिकामा गरेको लगानीले अन्ततः मुलुकलाई नै फाइदा हुन्छ।’ अन्नपूर्ण पोस्टमा दिनेश गौतमले खबर लेखेका छन् ।