०७ असार २०८३, आइतबार

कोटेश्वरमा नाराजुलुसमै सहभागी भए प्रचण्ड

कोटेश्वरमा नाराजुलुसमै सहभागी भए प्रचण्ड

संवैधानिक नियुक्तिको विरोधमा आह्वान गरिएको आम हड्ताल सफल पार्न नेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं सडकमा निस्किएका छन् ।

निवास खुमलटारबाट निस्किएपछि शुरूमा सातदोबाटोको प्रदर्शनमा सहभागी भएका प्रचण्ड त्यहाँबाट पुल्चोक हुँदै कोटेश्वर पुगेका छन् ।

कोटेश्वरमा प्रचण्डले केहीबेर कार्यकर्ताहरूसँग मिसिएर नाराबाजी समेत गरे ।  

त्यसक्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले सरकारले दिउँसै रात पार्ने काम गरेको आरोप लगाए ।

फागुन १ गतेदेखि संयुक्त जनआन्दोलन हुने दाबी गर्दै प्रचण्डले त्यसपछि ओली सरकारको आयु समाप्त हुने जिकिर गरे ।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले भोलि गर्न लागेको आमसभालाई पञ्च र्‍यालीको संज्ञा पनि दिए ।

'यस्तो बेलामा सरकार आफैंले जुलुस निकाल्ने भनेको त हिजो पञ्चायतका बेलामा पञ्चर्‍याली निस्किन्थे ठूल्ठूला; लाख, डेढ लाख, दुई लाखका र्‍याली । निभ्ने बेलाको पञ्चर्‍याली थिए ती,' प्रचण्डले भने, 'सत्तामा बसेर आफैं संविधान मिच्ने अनि आफैँ पञ्च र्‍याली निकाल्ने ? यहाँ त प्रतिगमनको पनि भद्दारूप देखियो ।'

प्रचण्डले अहिलेको शासनलाई जंगलराजको संज्ञा दिए । 'मैले त यसलाई जंगलराजको रूपमा लिएको छु,' प्रचण्डले भने । 

कमेन्ट गर्नुहोस्