
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले संविधान मिचेर दिउँसै रात पार्ने काम गरेको आरोप लगाएका छन् ।
संवैधानिक नियुक्तिको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्ताल सफल पार्न सडकमा निस्किएका प्रचण्डले कोटेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।
उनले फागुन १ गतेदेखि संयुक्त जनआन्दोलन हुने दाबी गर्दै ओली सरकारको आयु समाप्त हुने जिकिर समेत गरे ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाले भोलि गर्न लागेको आमसभालाई पञ्च र्यालीको संज्ञा दिए ।
'यस्तो बेलामा सरकार आफैंले जुलुस निकाल्ने भनेको त हिजो पञ्चायतका बेलामा पञ्चर्याली निस्किन्थे ठूल्ठूला; लाख, डेढ लाख, दुई लाखका र्याली । निभ्ने बेलाको पञ्चर्याली थिए ती,' प्रचण्डले भने, 'सत्तामा बसेर आफैं संविधान मिच्ने अनि आफैँ पञ्च र्याली निकाल्ने ? यहाँ त प्रतिगमनको पनि भद्दा रूप देखियो ।'
प्रचण्डले अहिलेको शासनलाई जंगलराजको संज्ञा दिए । 'मैले त यसलाई जंगलराजको रूपमा लिएको छु,' प्रचण्डले भने ।
कोटेश्वरमा प्रचण्डले केहीबेर कार्यकर्ताहरूसँग मिसिएर नाराबाजी समेत गरे ।
त्यसअघि प्रचण्ड पुल्चोक र सातदोबाटोको प्रदर्शनमा पनि सहभागी भएका थिए ।