०६ असार २०८३, शनिबार

बन्दाबन्दीले स्थानीय आलुले बजार पायो, किसान खुशी

माघ २२, २०७७
बन्दाबन्दीले स्थानीय आलुले बजार पायो, किसान खुशी

गत वर्ष बन्दाबन्दीका कारण व्याँसको राप्ला, सुनसेरा, नौगाडको खार, महाकालीको सेलाकाटै, अपिहिमालको घुसा खण्डेश्वरीबाट आलुको व्यापार सदरमुकाम खलङ्गा र खलङ्गा बाहिर समेत भयो ।

दार्चुलाको आलुले बजार पाएको यो पहिलोपटक हो । आलुले बजार पाउन थालेपछि किसान निकै खुशी भएका छन् ।

बन्दाबन्दीले बाहिरबाट आलु ल्याउन नसकिरहेको बेला स्थानीय उत्पादनले बजार पाएपछि किसान आलुखेतीमा लागेका छन् । उपयुक्त मौसम तथा आलुखेती गर्ने जमिनको क्षेत्रफलमा वृद्धि भएकाले आलु उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।्

आलु नगदेबाली भएको कारण उत्पादन अनुसारको प्रतिफल मिल्ने भएपछि किसानले आलुखेती लगाउन थालेका छन् । विगतमा आलु बिक्री गर्ने बजार नहुँदा समस्या भोगेका किसान अहिले भने आलुखेतीमा व्यस्त छन् ।

दार्चुलामा गत आवमा जिल्लामा वर्षेतर्फ ३५३ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो भने ४ हजार ६९४ दशमलव ९ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ ।

हिउँदेतर्फ जिल्लाभरि ३०२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको जनाइएको छ भने ३ हजार ९२६ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश पन्तले बताए ।

कृषि कार्यालयका अनुसार चालू आवमा वर्षेतर्फ ३५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ । जसमा ४ हजार ७२१ मेट्रिक टन आलु उत्पादन भएको पन्तले जनाए ।

किसानलाई जिल्लाको शैल्यशिखर नगरपालिका–६ अन्तर्गत पर्ने ग्वानी क्षेत्रमा चक्लाबन्दीमा आलु ५० प्रतिशत अनुदानमा ५० क्विन्टल आलुको बीउ वितरण गरिएको छ । हिउँदेतर्फ ३०५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको छ ।

पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत दार्चुलालाई आलु उत्पादनको सुपर जोन क्षेत्र घोषणा गर्ने योजना अघि सारेपछि जिल्लाका ९ वटै स्थानीय तहका किसान यतिबेला उत्साहित  भएका छन् । ज्ञान केन्द्रका अनुसार गत वर्षको वर्षे आलुखेतीभन्दा यो आवको वर्षे आलु उत्पादनमा २६ दशमलव ६ मेट्रिक टन आलु उत्पादनमा वृद्धि भएको छ ।

आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलुखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कार्यालय प्रमुख पन्तले जानकारी दिए । – नरेन्द्रसिंह कार्की/रासस

salt training

कमेन्ट गर्नुहोस्