
पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा ४ लाख ३० हजार जनालाई लगाउन योजना बनाएको खोप सबैलाई पुगेर बचेपछि दोस्रो चरणमा प्राथमिकतामा परेकालाई लगाउने भएको हो ।
माघ १४ गतेबाट शुरू गरिएको खोप अहिलेसम्म १ लाख ४५ हजार ८४४ जनाले लगाएपछि खोप बच्न सक्ने भएकाले ती खोप दोस्रो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई दिइने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
भारत सरकारले १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । खोप ४ लाख ३० हजार प्राथमिकतामा परेका व्यक्तिलाई यही माघ २४ गतेसम्म लगाइँदैछ । खोप लगाउन अझै ३ दिन बाँकी छ ।
‘अहिलेसम्म हामीले स्वास्थ्यकर्मीलाई मात्र लगाएका थियौं,’ उनले भने, ‘यो ३ दिनमा बढी जनसंख्यालाई लगाउने भएका छौं । अब प्राथमिकता परेका अध्यागमन कार्यालय, भन्सार कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल र वृद्धास्थलमा गएर खोप लगाउँछौं ।’
मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुमान गरेभन्दा स्वास्थ्यकर्मी मुलुक बाहिर रहेकाले खोप बच्न सक्ने बताए । मन्त्रालयले सरकारी स्वास्थ्यकर्मी ३० हजार, महिला स्वास्थ्य स्वयंसेविका ६० हजार र स्वास्थ्य काउन्सिलमा दर्ता भएका २ लाख ५० हजारलाई खोप लगाउने लक्ष्य राखेको थियो ।
तर धेरै स्वास्थ्यकर्मी काउन्सिलमा दर्ता भए पनि मुलुक बाहिर रोजगारी गरिरहेकाले लक्ष्यभन्दा कम स्वास्थ्यकर्मीले खोप लगाएको उनको भनाइ छ ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रम रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीलाई राखेको थियो ।
सरकारले ३ प्रतिशत जनसंख्यालाई खोप दिने लक्ष्यका साथ पहिलो चरणमा पनि प्राथमिकतामा परेका व्यक्तिलाई खोप दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले बचेको खोप लगाउनेबारे छलफल भइरहेको जानकारी दिए । उनले बचेको खोप र दोस्रो चरणको खोपसँगै लगाइने बताए ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप माघ १४ गतेबाट देशभरि अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।