३१ जेठ २०८३, आइतबार

लकडाउनपछि भागेर विवाह गर्नेहरूको संख्या बढ्यो, रोकिएन बालविवाह

माघ २३, २०७७
लकडाउनपछि भागेर विवाह गर्नेहरूको संख्या बढ्यो, रोकिएन बालविवाह
सांकेतिक तस्वीर

 कानुनअनुसार उमेर नपुगी विवाह गर्ने तथा गराउनेलाई कैद सजाय जरिवानाको व्यवस्था गरिए पनि बालविवाह रोकिएको छैन । कानुनले २० वर्ष उमेर नपुुगी गरिएको विवाहलाई वैधानिकता दिएको छैन ।

बालबालिका खोजतलास केन्द्रका प्रमुख रुद्रकुमार गिरीको अनुभवमा फेसबुकमा चिनजान भएपछि केटा र केटी विवाहका लागि भाग्ने तथा अभिभावकले हराए भनेर उजुरी गर्ने क्रम कोरोना महामारीमा भएको बन्दाबन्दीपछि बढेको छ ।

गत कात्तिकमा भएको काठमाडौँकै घटना सुनाउँदै उनले भने, “काठमाडौँ पशुपति आसपासकै १४ वर्षीया जुम्लिया किशोरी एकै पटक हराएको उजुरी केन्द्रमा आयो । केन्द्रले खोजी गर्दा एउटी किशोरी फेसबुकबाट चिनजान भएका कञ्चनपुरका १६ वर्षका किशोरसँग विवाह गरेर कञ्चनपुर पुगेको पाइयो भने अर्की कालोपुलका १७ वर्षका किशोरसँग गएको पाइयो । उनीहरू सबैको विवाह गर्ने उमेर नभएकाले परिवारमा पुनर्मिलन गराउन सफल भयौँ । ”

आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ को पुससम्मको नेपाल प्रहरीको तथ्याङ्क हेर्दा पनि उमेर नपुगी विवाह गर्नेको सङ्ख्या बढेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिनामै प्रहरीमा ५० वटा बालविवाहका उजुरी दर्ता भएका छन् । नेपाल प्रहरीका अनुसार आ.व. २०७५/७६ मा ८४ वटा र २०७६/७७ मा ६५ वटा उजुरी दर्ता भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले पछिल्लो तथ्याङ्कले बालविवाह कानुनी रूपमा निषेध गरिए पनि पछिल्लो समयमा सामाजिक सञ्जालको प्रयोग गरेर बालविवाह गर्ने क्रम बढेको बताए । पछिल्लो समयमा मोबाइल र फेसबुकको प्रयोग गरेर हुने बालविवाहले समस्या थपिएकाले यस्ता गतिविधि रोक्न विद्यालयले विशेष सचेतनाका कार्यक्रम राख्नुपर्ने देखिएको उनको भनाइ छ ।

नेपालले दिगो विकास लक्ष्यअन्तर्गत सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रोशनी श्रेष्ठले बालविवाहका स्वरूप बदलिएकाले नेपालले बालविवाह नियन्त्रण गर्न लिएको लक्ष्य प्राप्त गर्न सजिलो नभएको बताए । गोरखापत्र दैनिकमा सीता शर्माले खबर लेखेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्