
शुक्रबार राजधानीबाट प्रकाशित भएका राष्ट्रिय दैनिकले विभिन्न समाचारलाई प्राथमिकता दिएर पहिलो पृष्ठमा समेटेका छन् । कान्तिपुर दैनिकले ‘मुठभेडतिर मुलुक’ शीर्षकमा समाचार छापेको छ । समाचारमा भनिएको छ–प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको आमहड्ताल र ओली नेतृत्वको नेकपाका युवा विद्यार्थीको जुलुसबाट ‘मुठभेड’ सडकमै पुगेको छ । बिहीबार प्रचण्ड–नेपाल पक्षको हड्तालकै बीच महेश बस्नेतको नेतृत्वमा ओली समूहले युवालाई सडकमा उतारेको थियो । आजै ओली समूहले राजधानीमा बृहद् जनसभा गर्दैछ ।
सोही पत्रिकामा नेकपा प्रचण्ड–नेपाल समूहको आमहड्तालले जनताले सास्ती पाएको खबर छापेका छ । बन्दका क्रममा राजधानीमा ट्याक्सी जलाइनुका साथै देशभर ३३ स्थानमा तोडफोड भएको र १८५ जना पक्राउ परेका छन् । यस्तै झडपमा पूर्वमन्त्री मातृकाप्रसाद यादव, रामचन्द्र झालगायत गम्भीर घाइते बनेको र कर्णाली प्रदेशका मुख्यमन्त्री समेत हड्तालको समर्थनमा सडकमा आएको खबर पनि छापिएको छ ।
नागरिक दैनिकले नेकपा दाहाल–नेपाल समूहले बिहीबार आमहडतालका क्रममा आयोजना गरेको सभामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोधमा नारा लागेपछि समूहका अध्यक्ष पुष्पकमल दाहाल शिर झुकाएर सभास्थलबाट हिँडेको खबर छापेको छ ।
नेकपाका नेता–कार्यकर्ताले ललितपुरको पुल्चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदर्शन गरिरहेका बेला दाहालले पनि उनीहरूसँग स्वरमा स्वर मिलाएर नारा लगाइरहेका थिए। कार्यकर्ताले एमसिसीविरुद्ध नारा लगाउन थालेपछि उनले सुरुमा त्यसो नगर्न आग्रह गरे। तर कार्यकर्ताले एमसिसीविरुद्धको नाराबाजी जारी नै राखेपछि असहज महसुस गर्दै दाहालले शिर झुकाएका थिए। त्यसलगत्तै उनी कार्यक्रमबाट बाहिरिएका थिए। एमसिसीविरुद्ध नारा लाग्दा दाहालको देखाउको भावभंगीको सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ।
सोही पत्रिकाले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप भाइरस संक्रमण रोक्न मात्र नभइ भाइरसको प्रशारण रोक्न पनि प्रभावकारी देखिएको बेलायतमा गरिएको एक अध्ययनले देखाएको खबर छापेको छ । अध्ययनअनुसार खोपको दुवै डोज लिइसकेका व्यक्तिमा पीसीआर परीक्षण गर्दा पोजेटिभीदर आधाले घटेको देखिएको छ ।
यस्तै काँग्रेसको रामचन्द्र पौडेल पक्षले पार्टी केन्द्रीय समिति बैठक बोलाउन माग गरेको खबर पनि सो पत्रिकामा छापिएको छ ।
अन्नपूर्ण पोस्टले बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको खबर छापेको छ। विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित प्रयोगशाला चैतदेखि स्वास्थ्य सेवा विभागले प्रयोग गर्दै आएको हो।
पशु सेवा विभागसँग त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र चितवनको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला मात्रै छन्। यीमध्ये पनि बर्डफ्लुसम्बन्धी परीक्षण त्रिपुरेश्वरस्थित प्रयोगशालामा मात्रै हुन्छ।
यसबाहेक पत्रिकाले बन्दले जनतालाई सास्तीमात्रै दिएको, म्यानमारमा फेसबुक चलाउन रोक लगाइएको, प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा बहस जारी रहेको जस्ता समाचारपनि पहिलो पृष्ठमै छापेको छ ।
नेपालले विश्व स्वास्थ्य संगठनको प्रयासमा कोभिड १९ विरुद्धको २२ लाख ५६ हजार खोप पाउने भएको खबर गोरखापत्रले छापेको छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फेब्रुअरी अन्तिमबाट सुरु गर्ने जनाएको छ ।
कोभ्याक्सले बुधबार ‘अन्तरिम वितरण पूर्बानुमान’ शीर्षक राखेर जारी गरेको वक्तब्यमा १४० राष्ट्रलाई पहिलो चरण अन्तर्गत ३३ करोड ६० लाख खोप वितरण गर्ने जनाएको छ ।
कोभ्याक्सका अनुसार उक्त वितरण ब्यवस्था बमोजिम नेपालले उक्त मात्रामा खोप पाउने भएका हुन् । नेपालले पाउने खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको हो । विश्व स्वास्थ्य संगठनको पहलमा यूरोपेली आयोग र फ्रान्सले स्थापना गरेको ‘वान वर्ल्ड प्रोटेक्टेड’ कार्यक्रमको अङग कोभ्याक्स हो ।
सोही पत्रिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गतको २२०÷१३२ केभी कुस्मा सबस्टेसन २२० केभी प्रसारण लाइन र २२०÷१३२÷३३ केभी दाना सबस्टेसनको बिहीबार उद्घाटन गरेको खबर पनि छापिएको छ । यो मुलुककै दोस्रो ठूलो सबस्टेसन हो । यस्तै बागमती प्रदेशमा ३ वर्षमा १६ सय किमी सडक बनेकोलगायतका समाचार पनि गोरखापत्रको पहिलो पृष्ठमै छापिएको छ ।
नयाँ पत्रिका दैनिकले ‘सरकारी वकिलका अनौठा दलिल, संविधानका धारामा नभेटिन सक्छ, तर प्रधानमन्त्रीलाई विघटनको अधिकार हुन्छ’ शीर्षकमा समाचार छापिएको छ ।
समाचारमा भनिएको छ–प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र राष्ट्रपतिको घोषणाको प्रतिरक्षा गर्न संवैधानिक इजलासमा उभिएका वकिलहरूलाई संकट पर्दै आएको छ । प्रधानमन्त्रीले संसद्को सामना गर्नुको सट्टा प्रतिनिधिसभा नै विघटन गर्न सक्छन् भन्ने कुनै पनि धारा उल्लेख गर्न नसकेपछि बिहीबार सरकारी वकिलहरूले इजलासमा भने, ‘संविधानमा उल्लेख नभए पनि प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार हुन्छ ।’
बिहीबार तीनजना सरकारी अधिवक्ताले बहस गरेका थिए । बहस गर्न उत्रिएका नायब महान्यायाधिवक्ता नारायण पौडेललाई न्यायाधीश विश्वम्भर श्रेष्ठको प्रश्न थियो ‘संविधानका कुन धारा प्रयोग गर्ने भनेर प्रधानमन्त्रीलाई अधिकार हुनुप-यो भन्ने तर्क आइरहेको छ, संविधानमा नलेखिएको अधिकार पनि प्रयोग गर्न मिल्छ भन्न सकिन्छ ? यसलाई कसरी लिने ?’ नायब महान्यायाधिवक्ता पौडेलको जवाफ थियो, ‘संविधानमा किटान नभए पनि प्रधानमन्त्रीसँग विघटनको अधिकार हुन्छ ।’ उनले संविधानमा विघटनको व्यवस्थालाई सहयोग गर्ने धाराहरूको अन्तर्सम्बन्धबारे चर्चा गरे । राष्ट्रपतिलाई विपक्षी बनाइएको र आलोचना गरिएकोप्रति उनले प्रतिरक्षा गरे ।
सोही पत्रिकाले फागुन पहिलो साता कोभाक्समार्फत २२ लाख खोप आउने, शैक्षिक कार्यक्रममा एकरूपता ल्याउन तथा आर्थिक भार कम गर्न सर कारले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन बनाउने तयारी गरेको लगायतका खबर पनि छापिएको छ ।
यस्तै राजधानी दैनिकले पनि अन्य पत्रिकाले जस्तै प्रचण्ड–नेपाल समूहको बन्द, कोभ्याक्सबाट खोप ल्याइन लागिएको जस्ता समाचारलाई मुख्य पृष्ठमा खापेको छ । यसबाहेक विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोलाई प्रहरीले सर्वोच्चको आदेशमा रिहा भएलगत्तै फेरि पक्राउ गरेको खबर छापेको छ । यस्तै ओलीको भाषणलाई पनि पत्रिकाले पहिलो पेजमै छापेको छ ।